उराँवको कुडुख भाषाको पहिलो चलचित्र जहर जिनगी गही सार्वजनिक

सुनसरी । विश्वमै पहिलो पटक कुडुख भाषामा निर्माण गरिएको पहिलो चलचित्र जहर जिनगी गही सुनसरीमा सार्वजनिक गरिएको छ ।
इनरुवाको सीवि सिनेमा हलमा पहिलो पटक उराँव कुडुख भाषाको पहिलो चलचित्र जहर जिनगी गही (जीवनको विस) को प्रदर्शनी गरिएको हो ।
नेपाल र भारतमा बसोबास रहेको उराँव समुदायको भाषा कुडुखमा निर्माण भएकोले यो विश्वमै पहिलो कुडुख भाषाको चलचित्र भएको दाबी गर्दै सुनसरीमा सार्वजनिक रुपमा प्रदर्शनी गरिएको हो ।
चलचित्र बोर्डका प्रदेश १ अध्यक्ष अरुण प्रधान सहितको उपस्थितिमा उराँव समुदायको बाहुल्य रहेको जिल्ला भएकाले सुनसरीमा उक्त चलचित्रको प्रदर्शनी सहित सार्वजनिक गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।
उराँव समुदायको महिलाको साहस र एकल महिलाले झेल्नुपरेको पीडा तथा अन्तरजातीय विवाहको असरका बारेमा चलचित्रमा चित्रण गरिएको छ ।
यो चलचित्र सार्वजनिक भएपछि भारत र नेपालका उराँव समुदाय खुसी भएको प्रतिष्ठानका सदस्य दुर्गा नारायण उराँवले जानकारी दिनुभयो ।
कुडुख भाषाको चलचित्रको प्रदर्शनीको उद्घाटन सिबि सिनेमा हलमा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले गर्नुभएको थियो भने चलचित्र बोर्डका महासचिव दिनेश कोइराला, चलचित्रका निर्देशक इनुश कुजुर, ग्राफर सुरेन्द्र कुजुर, प्रतिष्ठानका जयकुमार उराँव, सम्पललाल उराँव, स्वास्थ्यकर्मी पुष्पलता कुजुर, प्रेमलाल उराँव, रिमा उराँव, जिसस सदस्य भुपेन्द्र उराँव, वडा सदस्य हिरा उराँव, हरि उराँव, ब्रह्मदेव उराँव, कुडुख म्यूनिक समूहका अध्यक्ष राजकुमार उराँव सहितको उपस्थिति रहेको थियो ।
त्यसैगरी कुडुख भाषाको संरक्षण र कला क्षेत्रमा गरेको उपलब्धिले आफूहरू खुसी भएको सुनसरीका टिका उराँव, लक्ष्मण उराँव, निरो बडा, गोविन्द उराँव, दुर्गानारायण उराँव, रघु उराँव, केशव उराँव, विष्णु उराँव, सुनिता उराँव, सुनिता शर्मा लगायतकाले प्रतिक्रिया दिनुभयो । सबै भूमिकामा उराँव कलाकारको अभिनय रहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्