निःशुल्क बिजुली बसको यान्त्रिक परीक्षण सफल
रुपन्देही । लुम्बिनी विकास कोषद्वारा दसैँको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ ।
एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो । दसैँ तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार असोज १३ देखि कार्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले निःशुल्क धम्म यात्रा नामक बिजुली बसको सेवा लिएका छन् ।
६ वटा रुटमा ५ वटा बसमार्फत ५ सय २७ ट्रिप बस सञ्चालन हुँदा १६ हजार ३ सय ८४ किमी दुरी यात्रा गरेको कोषले जनाएको छ । यान्त्रिक परीक्षण इकाई समितिका अनुसार सबैभन्दा बढी लुम्बिनी बेलहिया रुटमा सबैभन्दा बढी १ सय ६० ट्रिप बस चल्दा ५ हजार ७ सय ८३ जना यात्रुले निःशुल्क बिजुली बसको सेवा लिएका छन् ।
लुम्बिनी तिलौराकोट रुटमा १३१ ट्रिप बस चल्दा ५ हजार ७२, लुम्बिनी रामग्राम रुटमा ४८ ट्रिप बस चल्दा २ हजार २ सय ७०, लुम्बिनी बुटवलमा ४६ ट्रिप बस चल्दा एक हजार ३ सय ४६ जनाले सेवा लिएको संयोजक पौडेलले बताउनुभयो ।
त्यसैगरी लुम्बिनी देवदह रुटमा ५६ ट्रिप हुँदा २ हजार ८ सय १४ जना र लुम्बिनी वरपर र रामापुरसम्म ६८ ट्रिप बस चल्दा २ हजार ५ सय ७३ जनाले धम्म यात्राको सेवा लिएको कोषले जनाएको छ । लुम्बिनीमा सञ्चालित सटल बस सुरुको चरणमा ५ दिन मात्रै सञ्चालन भएको थियो । सुरुमा यान्त्रिक परीक्षण १५ दिन सञ्चालन गर्ने भनिए पनि कोषको सचिवालय बैठकले १५ दिन थप गरी छठसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बसको यान्त्रिक अवस्था, चार्जिङजस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनुभयो । उहाँले कोषले बसलाई व्यावसायिक रुपमा सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइने बताउनुभयो ।
एक महिनासम्म यान्त्रिक परीक्षण गर्दा प्राविधिक रुपमा बस तयार भएको निष्कर्ष निकालिएको तर सञ्चालनका लागि आवश्यक विधि र बसलाई हरियो नम्बर प्लेटमा ल्याउने काम प्रक्रियामा रहेकाले छिट्टै सञ्चालन गरिने कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।
उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट चालक र सहयोगी प्राप्त भएकोमा कोषले धन्यवाद दिएको छ ।
कोषले बिजुली बसको यान्त्रिक परीक्षणका लागि बोर्ड सदस्य पौडेलको संयोजकत्वमा धर्मेन्द्र पाल र जावेद खान सदस्य रहेको तीन सदस्यीय बिजुली बस सञ्चालन परीक्षण इकाई समिति गठन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्