तपाईँ सुन्दै हुनुहुन्छः

भारत सरकारद्वारा निर्वाचनका लागि २ सय गाडी प्रदान                                                                       

काठमाडौँ । नेपालमा हुन गइरहेको आगामी निर्वाचन प्रयोजनका लागि भारत सरकारले उपहार स्वरूप २ सय गाडी नेपाल सरकारलाई प्रदान गरेको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती गाडीहरूको साँचो अर्थमन्त्री जर्नादन शर्मालाई हस्तान्तरण गर्नु भएको छ ।
गाडीहरूको साँचो ग्रहण गरेपछि बोल्दै अर्थमन्त्री जर्नादन शर्माले नेपाल सरकारको आग्रह बमोजिम भारत सरकारले निर्वाचन प्रयोगका लागि गाडीहरू उपहार स्वरूप प्रदान गरेकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गर्नु भयो ।

उहाँले भारत नेपालको महत्त्वपूर्ण विकास साझेदार र छिमेकी मुलुक रहेकोले भारतले नेपालमा कोरोना लगायतका अन्य समयमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको बताउनु भयो ।
अर्थमन्त्री शर्माले नेपालले भारतसँग सरकारीस्तरमा रासायनिक मल किन्ने सम्झौता गरेको र मल छिट्टै आयात हुने पनि उल्लेख गर्नु भयो ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारत सरकारले तर्फबाट नेपालको निर्वाचनका लागि उपहार स्वरूप गाडीहरू प्रदान गर्न  पाएकोमा खुशी व्यक्त गर्दै सहयोगले दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग गर्ने बताउनु भयो ।

भारतीय राजदूत क्वात्राले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भारत सरकारको तर्फबाट नेपाल सरकारलाई शुभकामना पनि व्यक्त गर्नु भयो ।
भारत सरकारले नेपालमा निर्वाचन प्रयोगका लागि नेपाल सरकारको आग्रह बमोजिम विभिन्न समयमा गरी अहिलेसम्म २ हजार ४ सय गाडीहरू उपहार स्वरूप प्रदान गरेको छ ।
त्यस मध्येमा २ हजार गाडीहरू सुरक्षा प्रयोजनमा प्रयोग भएका छन् भने ४ सय गाडीहरू निर्वाचन प्रयोजनमा प्रयोग भएका छन् । आज प्रदान गरिएका २ सय गाडीहरू मध्ये १ सय २० गाडीहरू सुरक्षा प्रयोजनका लागि र ८० गाडीहरू निर्वाचन आयोगको प्रयोजनका लागि प्रयोग हुने अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले ती गाडीहरू भन्सार छुटमा नेपालमा ल्याउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button