बिक्न छोडे मादल, पेसासँगै संस्कृति लोप हुँदै

तनहुँ । तनहुँ दुलेगौडाका दिलबहादुर सार्की यतिबेला पुराना मादल मर्मत गर्नमै व्यस्त देखिनुहुन्छ ।
केही बर्ष अघिसम्म नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै सार्कीले अहिले मादलको बिक्री ह्वात्तै घटेको बताउनुभयो । चार दशकदेखि मादल बनाउने र विक्री गर्ने पेसामा संलग्न सार्की अहिले बर्षैभरि फुर्सदिलो बन्नुपर्दा पेसाबाट विमुख हुनुपर्छ कि भन्ने चिन्तामा हुनुहुन्छ ।
तीन बर्ष अघिसम्म तिहारमा मात्र लाखौँको मादल बेच्नुभएका माइला मादल पसलका सार्कीले अहिले मुस्किलले दिनमा दुई–तीन वटा मादल बिक्री हुने गरेको बताउनुभयो ।
“अहिले सबैका हात–हातमा मोबाइल छ, सबै त्यसैमा आउने भएपछि रङ्ग–रमाइलो पनि हराउँदै गयो ।” उहाँले भन्नुभयो, “गाउँघरमा पहिले जसरी जम्मा भएर रमाइलो गर्ने चलन नै छैन ।”

प्रविधिको विकाससँगै जातीय र सांस्कृतिक पेशा लोप हुने क्रम बढ्न थालेको सार्कीको बुझाई छ । उहाँले मेला महोत्सवमा पनि सांस्कृतिक बाजाभन्दा बढी प्रविधिमा आधारित सामाग्रीको प्रयोग बढेको बताउनुहुन्छ । माइला मादल पसलमा फाट्टफुट्ट आउने ग्राहक समेत परिवर्तनशील छैनन् । “मादल किन्न आउनेहरू त्यही पुराना बुढाहरू हुन् जस्ले मोबाइल चलाउन सक्दैनन् ।” उहाँले भन्नुभयो, “यस्तै हुने हो भने हामी बनाउनेहरू त अन्य पेशा गरेर पनि जीवनको गुजारा चलाम्ला तर संस्कृति त हराउँदै जान्छ नि ।”
संस्कृतिको जगेर्ना गर्न नागरिक स्वयं त सचेत हुनुपर्छ सरोकार बाला निकाय पनि गम्भीर बन्नुपर्ने सार्कीको भनाई छ । “यो पेशा जोगाउन कसैको साथ छैन हजुर, सरकारले त हामीलाई देख्दै देख्दैन ।”
मादल बनाउन आवश्यक पर्ने गाई र गोरुको छाला शुक्लागण्डकी नगरपालिकाले व्यवस्थापन गर्न सक्ने भएपनि नगरेको उहाँको गुनासो छ ।

नगरपालिकाले सञ्चालनमा ल्याएको गौ संरक्षण केन्द्रबाट मरेका चौपायाको छाला पाउन पाए छालाकै लागि भारतका बजारसम्म पुग्न नपर्ने उहाँले जानकारी दिनुभयो । मादलका लागि आवश्यक पर्ने गाई, गोरु र बाख्राको छाला लिन उहाँ भारतको सिलगुडीसम्म पुग्ने गर्नुहुन्छ ।
कच्चा पदार्थको जोहो गर्नै समस्या भएको कारण सार्कीका छोरा दुर्गाबहादुर यो पेसालाई निरन्तरता दिन चाहनुभएन । “बुवाको पेसालाई निरन्तरता दिन गाह्रो छ”, दुर्गाबहादुरले भन्नुभयो, “मुख्य कुरा यो सिजनमा मात्र हुने पेशा हो, अर्को कुरा उहाँले पुर्खादेखि गर्दै पेसाबाट सबै सामाग्री जुटाएर ग्राहकको लागि सामान तयार पार्न गाह्रो भएको छ भने मलाई सहज छैन ।” मादलको ब्यापार खस्किँदै जान थालेपछि सिजनमा मात्र बुवासँगै मादल बनाउन देखिने उहाँ अधिकांश समय घर बनाउने पेसामा संलग्न हुनुहुन्छ ।
यता तनहुँ कलाकार संघका अध्यक्ष कृष्ण प्रसाद गौतमले भने मादलको ब्यापार घटे पनि आवश्यकता भने अपरिहार्य भएको बताउनुहुन्छ । “स्टुडियोदेखि साङ्गीतिक कार्यक्रममा अनिवार्य मादलको प्रयोग भएकै हुन्छन् ।” गौतमले भन्नुभयो, “पहिला जस्तो नहुनु त समयले सबै कुरा सजिलो बनाइदिएर पनि होला ।”
नजिकिँदो तिहारमा सङ्घमार्फत खेलिने देउसी भैलोमा सकेसम्म मौलिक रुपमा प्रस्तुत हुने उहाँहरूको योजना छ ।

कलाकार र कलाकारसँग सम्बन्धित संस्थाले पनि सांस्कृतिक बाजाको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले सङ्घमार्फत वाद्य बाद्यनका सामाग्री जुटाएर सदस्यहरूलाई निःशुल्क रुपमा प्रशिक्षण दिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।
अहिले खैरेनीटारमा रहेको कलाकार सङ्घको कार्यालयमा मादल, हार्माेनियम, बासुरी लगायतका वाद्य वाद्यनका सामाग्री खरिद गरेर ल्याइएको छ । सङ्घमा आबद्ध कलाकारहरूले इच्छा अनुसारको बाजा बजाउन प्रशिक्षकको व्यवस्था गरेर तालिम दिने तयारी भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्