तपाईँ सुन्दै हुनुहुन्छः

कोहारलाई उत्तराधिकारीकै चिन्ता

भैरहवा । दीपावलीमा माटोबाट बनेको पाला (दियो) को ग्राहक बढेपछि यस्तो पाला बनाउने कोहार समुदाय उत्साहित छन् । विशेष गरी तिहारलाई नै लक्षित गरी बनाइएको माटोको सामग्रीले राम्रो बजार लिएकामा उनीहरू हर्षित भएका हुन् ।

रोहिणी गाउँपालिका–३ धकधईका ६५ वर्षीय कोइल कोहारले यस वर्षको दीपावलीमा ४० हजार गोटा बिक्री गर्ने गरी माटाका पाला तयार गर्नुभएको थियो । दीपावलीको अघिल्लो दिनसम्म अधिकांश पालाहरू बिक्री गरिसकेको उहाँले सुनाउनुभयो ।

दीपावलीबाट नै वर्षभरी पुग्ने खर्चको जोहो गर्नु पर्ने उहाँलाई बाध्यता छ । उहाँले पाला बिक्री गरेर नै चार गोन जति धान र रु २० हजार जति पैसा कमाएको बताउनुभयो । उहाँले अब उमेर गइसकेका कारण पहिलाको तुलनामा धेरै कम पाला बनाउने गरेको बताउनुभयो । “१४–१५ वर्षको उमेरदेखि नै माटोको भाँडा बनाउन सुरु गरेको हुँ”, कोहारले भन्नुभयो, “यसको बजार पहिलेभन्दा अहिले राम्रो छ ।”

रोहिणी–३ मा रहेका ३२ कोहार परिवारलाई अहिले माटोका सामग्री पाला, घण्टी, कोसा, भुड्की लगायतका सामग्री बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरू स्थानीय बजार मात्र नभई नारायणगढ, स्याङ्जा, पोखरासम्म माटोको सामग्री बिक्री गर्ने गरेको बताउँछन् ।

कोइल जस्तै अर्को पुस्ता ३७ वर्षीय साधे कोहार अहिले त ग्राहकहरू घरमै समान किन्न आउने गरेको बताउनुहुन्छ । “बनाउन मात्र धौ धौ हो, बजारलाई समस्या छैन”, साधेले भन्नुभयो । छेउछाउमा काँचो माटोको पाला राखेका साधेले अहिले यसलाई पोल्न पनि बाँकी रहेको सुनाउनुभयो । “तिहार टाउकोमै आइसक्यो, बनाएर मात्र भएन, यसलाई बेच्नु पनि छ”, उहाँले आफ्नो चिन्ता सुनाउनुभयो ।

बजार राम्रो रहे पनि अबका पुस्ता आफ्नो परम्परागत पेशामा रम्न नसकेको अगुवा कोहारहरुको गुनासो छ । माटोको काममा लगानी बढी र आम्दानी कम भएपछि नयाँ पुस्ताले यो कलामा रुचि नदेखाएको कोइल बताउनुहुन्छ । “भाँडा बनाउन माटो नै पाइन्न, जर्ना दाउराको पनि उस्तै समस्या छ । लगानी नै बढी आउँछ, त्यसैले म नै सायद यसको अन्तिम कलाकार हो”, कोइलले गुनासो गर्नुभयो ।

माटोलाई सुन्दर आकृति दिन खप्पिस मानिने कोहार समुदाय विभिन्न समस्याले उत्तराधिकारीकै कारण यो कला गुमाउने अवस्थामा पुगेको छ । माटोबाट विभिन्न भगवान्, जनावरको आकृति, भुड्की, पाला लगायतका सामग्री बनाउने यो समुदायका अधिकांश युवा पालाबाहेक अरू केही बनाउनै सक्दैनन् । आम्दानी नै कम भएको हुँदा वैकल्पिक पेशातिर लागेको उनीहरूको भनाइ छ ।

कोहार समुदायलाई सबैभन्दा बढी समस्या माटो र जर्ना दाउराको रहेको अगुवा कोइल कोहार बताउनुहुन्छ । यो सिजनमा ४० हजार पाला बिक्री गर्ने लक्ष्य राख्नुभएका उहाँले जर्ना दाउराले लागत बढाएको सुनाउनुभयो ।

लगानी बढी भए पनि यसैलाई आफ्नो पेशा बनाएका पनि केही कोहार समुदाय छन् । कोही दीपावलीमा मात्र त कोही बाह्रै महिना यही कामबाट आम्दानी गरी आफ्नो परिवार पालेका छन् । अन्ठाउन्न वर्षीय रामदेव कोहार सिजनको रूपमा व्यापार गर्नुहुन्छ । यो दीपावलीमा करिब ३० हजार पाला बेचेर चार गोन जति धान र रु २० देखि २५ हजार कमाउने उहाँको लक्ष्य छ । यसबाट र अन्य खेतीको उत्पादनबाट उहाँ आफ्नो परिवारको खर्च धान्ने मनस्थितिमा हुनुहन्छ ।

उहाँभन्दा अलि ठूलो कारोबारी राम किसुन कोहार हुनुहुन्छ । उहाँले माटोको भुड्की बनाएर पोखरासम्म बजार फैलाउनुभएको छ । विशेष गरी माटोको भुड्की र अन्य भाँडा बनाउन खप्पिस उहाँ यसैबाट आफ्नो परिवार चलेको सुनाउनुहुन्छ ।

स्थानीय तहहरूले यस्ता परम्परागत सीपलाई संरक्षण गर्न आवश्यक रहेको कोहारहरूको भनाइ छ । स्थानीय सरकारले यस्ता सीपमूलक व्यवसायमा लगानी गरे नयाँ पुस्ता यसमा आकर्षण हुने सम्भावना पर्याप्त रहेको स्थानीयवासी महेश कोहारले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button