तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारहरू पार्टी पत्रकारिताबाट माथि उठ्न आवश्यक’

जनकपुरधाम । निर्वाचनको समयमा पत्रकारहरूले अझै गम्भीरताका साथ कलम चलाउनुपर्ने आवश्यकतामा जनकपुरधाममा आयोजित कार्यक्रमका सहभागीहरूले जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ धनुषाको १२ औँ साधारण सभाको उद्घाटन तथा सम्मान कार्यक्रममा सहभागी हुनुभएका वक्ताहरूले पत्रकार जगत् कसैको प्रभावमा पर्न नहुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारितालाई दोस्रो पेशाको रुपमा राख्नेहरूलाई पत्रकारिता छाड्न आग्रह गर्दै विभिन्न चुनावमा भाग लिएका देश भरिमा धेरै पत्रकारहरूको सदस्यता खारेज गरेको बताउनुभयो ।

उहाँले पत्रकारहरूको पेशागत सुरक्षाका तथा भौतिक सुरक्षाका लागि नेपाल पत्रकार महासङ्घ लागिपरेको बताउँदै निर्वाचन आचार संहिताको नाउँमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै काम नगर्न महासङ्घले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताउनुभयो ।

प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले पत्रकारिता क्षेत्रमा चाटुकारिता बढ्नु चिन्ताको विषय भएको बताउँदै पत्रकारहरू निष्पक्ष भएर कलम चलाउनुपर्ने धारणमा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्णले पत्रकारिता जगतमा भएका समस्याहरूको समाधानका लागि राज्य पक्ष गम्भीर हुन आवश्यक भएको बताउनुभयो ।

नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष बलराम सुवेदीले समाजको रूपान्तरण तथा गलत प्रवृत्तिको विरुद्धमा पत्रकारिता जगत सशक्त रुपमा अगाडी बढ्नु आवश्यक रहेको बताउनुभयो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पत्रकारहरू पार्टी पत्रकारिताबाट माथि नउठेसम्म निष्पक्ष पत्रकारिताको कल्पना गर्न कठिन हुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र, वरिष्ठ पत्रकार चन्देश्वर गिरी, पूर्व अध्यक्ष उमेश साह लगायतले निष्पक्ष पत्रकारितामा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व सभापति स्वर्गीय माधव आचार्यको श्रीमती तुलसा आचार्य, पूर्व सभापति एवं प्रेस स्वतन्त्रता सेनानी अशोक रौनियार, पूर्व सभापति उमेश साह तथा पूर्व अध्यक्ष अनिल मिश्रलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button