खेलाडी राष्ट्रका गहना हुन : गृहमन्त्री खाण

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उहाँले वर्तमान तथा पूर्व खेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा सरकारले विशेष ध्यान दिने बताउनुभयो । खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई देशलाई नै अन्तर्राष्ट्रिस्तरमा चिनाउन काम गरेको गृहमन्त्री खाणले बताउनुभयो ।
“खेल क्षेत्रको विकासबाट मुलुकको समग्र विकास गर्न सकिन्छ”, मन्त्री खाणले युवा सङ्घ नेपाल सिद्धार्थनगरले भैरहवामा आज आयोजना गरेको कार्यक्रममा भन्नुभयो, “पाँच दलीय गठबन्धन पनि खेल क्षेत्रको विकासमा प्रतिबद्ध छ ।”
निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनको सरकार बन्ने उहाँको दाबी थियो । “पाँच दलीय गठबन्धनको सरकारले खेल र खेलाडीको सम्मान गर्छ’, उहाँले भन्नुभयो, “निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ । त्यसपछि खेलाडी, खेल क्षेत्र बुझेका व्यक्तिसँग बसेर छलफल गरी खेल क्षेत्र र खेलाडीको विकासका लागि दीर्घकालीन योजना बनाउँछौँ ।”
राष्ट्रलाई सधैँ शिरमा राखेर खेलाडीले खेल खेल्ने भएकाले सरकारले मात्रै नभएर हरेक नागरिकले उहाँहरूको सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले खेलका माध्यमबाट मुलुकको आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्नेसमेत बताउनुभयो ।
“हामीले राम्रा अन्तर्राष्ट्रिय रङ्गशाला बनायौँ र यहाँ ठूला खेल आयोजना गयौँ भने विदेशी खेलाडी यहाँ खेल्न आउनु हुन्छ”, उहाँले भन्नुभयो, “खेलाडीसँगै अफिसियल, प्रशिक्षक, शुभेच्छुक पनि आउँदा नेपालको अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार हुन्छ, यहाँको आर्थिक गतिविधि बढ्छ ।”
उहाँले नेपाली खेलाडीले विभिन्न अभावका बाबजुद राष्ट्रका लागि खेलिरहेको जनाउँदै यो समग्र देशका लागि खुसी र गौरवको विषय भएको बताउनुभयो । “अहिले खेलिरहनुभएका खेलाडी मात्रै होइन, पूर्व खेलाडी, प्रशिक्षकलगायत खेल क्षेत्रसँग सम्बन्धित सबैले केही न केही अभावको सामना गर्नुपरेको छ, अभावबाट मुक्त गर्न हामी लागि पर्नेछौँ, गठबन्धनले यसतर्फ ध्यान दिनेछ”, उहाँले भन्नुभयो, “सरकारले भोलिका दिनमा खेल पूर्वाधार विकास गर्दै सबै खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई आत्मसम्मान हुने व्यवस्था मिलाउने छ ।”
कार्यक्रममा गृहमन्त्री खाणले खेल क्षेत्रलाई माथि उकास्न गठबन्धनको जित जरुरी रहेको दोहोर्याउनुभयो । कयौँ विधाका खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा रुपन्देहीले उल्लेखनीय टेवा पुर्याएको स्मरण गर्दै गृहमन्त्री खाणले जिल्लाका सबै खेलकुदका पूर्वाधार विकासमा आफूले पहल गर्ने र आवश्यक बजेट छुट्याउन लागिपर्ने बताउनुभयो ।
त्यस्तै, लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री सन्तोषकुमार पाण्डेयले मुलुकलाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी, सगरमाथा र खेल क्षेत्र नै भएको भन्दै खेलाडीलाई कुनै किसिमको अभाव हुन नदिन र बाँचुन्जेल उहाँहरूको सेवा सुविधा र सुरक्षाको ग्यारेन्टी गर्न ध्यान दिने बताउनुभयो । यसका लागि आफूहरूले प्रदेश र सङ्घ सरकारसँग पहल गर्ने पूर्वमन्त्री पाण्डेयले बताउनुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी सागर पुनले खेल क्षेत्रमा विगतमा भन्दा केही पूर्वाधार विकास भए पनि पर्याप्त नभएको, खेलाडीले खेल जीवनपछि अनेक दुःख कष्ट बेहोर्नुपरेको, रोजगारी नभएर भौँतारिनुपरेको, कतिपय राम्रा खेलाडी आर्थिक अभावमा खेल नै छाडेर बिदेसिनु परेको गुनासो गर्नुभयो । उहाँले यी सबै समस्या समाधानका लागि पहलकदमी गर्न गृहमन्त्री खाणसँग अनुरोध गर्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्