सेनाद्वारा दुई दिनमै जुम्ला–डोल्पा जोड्ने पुल निर्माण

जुम्ला । गत साता भएको अविरल वर्षाले जुम्लामा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ । अविरल वर्षापछि आएको बाढी पहिरोले जुम्लामा दर्जनौँ पुल, सिचाई कुलो, घर, सडक लगायतका संरचना भत्किनुका साथै क्षत विक्षत भएका छन् ।
जस अन्तर्गत जुम्लाको गुठिचौर गाउँपालिका १ स्थित जुम्ला–डोल्पा जोड्ने काठेपूल बाढीले बगाएको थियो । जुम्ला–डोल्पा जोड्ने,गुठिचौर वडा नं. १ र २ का दर्जनौँ बस्ती आउजाउ गर्ने एक मात्र माध्यम कुडिगाउँ पुल बाढीमा बगेको हो । पुल बग्दा गुठिचौरको माथिल्लो क्षेत्र र डोल्पामा दैनिक उपभोग्य निर्यातमा कठिन भएको थियो । भने स्थानीयलाई दैनिक आवतजावतमा समेत सास्ती थियो ।

तर गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाको पहल तथा नेपाली सेना र स्थानीयको सहभागितामा जुम्ला–डोल्पा जोड्ने पुल दुईमै निर्माण सम्पन्न गरिएको छ । नन्दाबक्स गण जुम्लाका जमदार भेष बहादुर रावलको अगुवाइमा गएको ३० जना नेपाली सेनाको टोलीले दुई दिनमै पुल निर्माण सम्पन्न गरी फर्किएको हो ।
जनश्रमदानबाटै पुल निर्माण गर्ने पालिकाको योजना अनुसार सयौँ स्थानीय र सेनाको सहभागिताले चिनिया शैलीमा दुई जिल्ला जोड्ने पुल निर्माण गरिएको गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“बाढी पहिरोको क्षतिबाट गुठिचौर पनि अछुतो रहेन । पुल बगाउँदा खाद्यान्न आपूर्ति, जुम्ला डोल्पा यातायात ठप्प भयो । भने, स्थानीयको दैनिकी समेत सास्तीपूर्ण भयो । चाँडो सडक खुलाउन र नागरिकलाई राहत दिन सेनाको सहभागितामा दुई दिनमै पुल बनाएपछि डेढ हप्तादेखि अवरुद्ध सडक खुलेको हो ।”

पालिकाबाट बजेट विनियोजन गरी पुल निर्माण भएको खण्डमा कम्तीमा पनि १० लाख बढी खर्च हुने निश्चित थियो । तर नेपाली सेना र स्थानीयको जनश्रमदानमा खाने, काठ काटेको र ग्याविन जालीको गरी साढे दुई लाखमै पुल निर्माण भएको अध्यक्ष बुढाको भनाई छ । गुठिचौरमा थन्किएको जडीबुटी ढुवानी गर्न सहज हुनुका साथै व्यापारिक सामान ल्याउन लैजान सकिने अवस्था रहेको स्थानीयले बताएका छन् ।
सडक खुल्दा स्थानीय खुसी
अविरल वर्षाले पुल बगाएपछि गुठिचौर १ र २ का झण्डै ७ सय बढी स्थानीय नागरिकले आवतजावत गर्न पाएका थिएनन् । खाद्यान्न ओसार्न समेत नसक्दा दैनिकी प्रभावित थियो । गुठिचौर २ का लाल बहादुर बोहोराले भन्नुभयो,“बाढीले बगाएको पुल पालिकाको पहलमा नेपाली सेनाले दुई दिनमै बनाएर सडक खुल्यो । अब सहजै गाडी गुड्ने छन् । भने आवतजावतमा सहज हुने कुरा खुसी छौ ।”
बाढीले बगाएको पुल विगतको भन्दा बलियो निर्माण भएको छ । सेनाले गाउँमै गएर नागरिकको राहतका लागि गरेका थुप्रै कामले समेत स्थानीय मक्ख छन् । स्थानीय मनसुर बोहोरा, सिंहवीर बोहोरा लगायत गुठिचौर १ र २ का सयौँ नागरिक दुई दिनमै पुल निर्माण भएर सञ्चालनमा आएपछि खुसी भएका छन् ।

गुठिचौर १ का वडाध्यक्ष अर्जुनकुमार महतारा र वडा नं २ का वडाध्यक्ष दीप बहादुर ऐडीले पछिल्लो समय नेपाली सेना राहत उद्धार र पुनर्स्थापनामा सक्रिय भएको प्रति धन्यवाद दिनुभयो ।
पुल निर्माण पश्चात् दुई जिल्लाको व्यापारिक गतिविधि बढ्ने र नागरिकले राहत महसुस गर्ने अध्यक्ष महताराको विश्वास छ । सेनासँगै गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, वडाध्यक्ष अर्जुन महतारा,दीप बहादुर ऐडी लगायतको टोली खटिएको थियो ।
राजमार्ग खुलाउन देखि राहत उद्धारमा सेना
नेपाली सेना पछिल्लो समय बाढी पहिरो प्रभावितको राहत उद्धार तथा पुनर्स्थापना र पुनर्निर्माणमा जुटेको छ । कर्णाली राजमार्ग खुलाउन ब्लाष्टीङ गर्ने, दुर्गम कनकासुन्दरीमा बोकेरै राहत लिएर बाँड्ने देखि अवरुद्ध जुम्ला–डोल्पा सडक खुलाउन लगायतका राहत उद्धारका काममा सेना जुटेको छ ।
नन्दाबक्स गणका जुम्लाका गणपति रवीन थापाले वर्षासँगै आएको बाढी पहिरो प्रभावितहरूको राहत उद्धार पुनर्स्थापना र पुनर्निर्माणका साथै जनजीवन सहज बनाउन सेनाको विगत डेढ हप्तादेखि विभिन्न ठाउँमा खटिएर काम गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार गत हप्ता वर्षातकै बीच कनकासुन्दरी पुगेर पीडितलाई सेनाले राहत दिएको थियो । भने कर्णाली राजमार्ग खुलाउनका लागि समेत सुरुवातीदेखि जुटिरहेको छ । आजभोलि दैनिक ब्लाष्टीङ गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्