तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा नेम्बाङ र आङ्देम्बेबीच कडा प्रतिस्पर्धा

पाँचथर । एक मात्र निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला पाँचथरमा दुई ‘हेभी वेट’ नेताबीच दोस्रोपटक चुनावी प्रतिस्पर्धा हुँदैछ । ८ स्थानीय तह रहेको यस जिल्लामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सह–महामन्त्री तथा संविधानसभा सदस्य भीष्मराज आङ्देम्बे र नेकपा एमालेबाट पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङ बीच  प्रतिनिधिसभा सदस्य चुनावका लागि कडा भिडन्त हुने भएको छ । 

आङ्देम्बे उम्मेदवार बनेको सत्ता गठबन्धनभित्र पाँचथरमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) छन् । उनी २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा पहिलो पटक प्रतिस्पर्धी बनेका नेम्वाङसँग १० हजार ६ सय १६ मतान्तरले पराजित भएका थिए । त्यसबेला नेम्वाङ वाम गठबन्धनका संयुक्त उम्मेदवार थिए । नेम्बाङले ३८ हजार ६ सय १६ मत प्राप्त गर्दा आङदेम्बेले २८ हजार ३५ मत प्राप्त गरेका थिए । 

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका अति निकट मानिने आङ्देम्बे काँग्रेसको चौधौँ महाधिवेशन बाट सह–महामन्त्रीमा निर्वाचित भएका हुन् । पाँचथरले नेतृत्व गर्ने ठाउँ पाएपनी नेतृत्व पाएपछी जिल्लालाई संवृद्धि तर्फ लैजाने ध्यान नगएकाले स्थिर सरकार बनाउँदै पाँचथरलाई संवृद्धि तर्फ लैजाने आङ्देम्बेको भनाई छ ।

नेम्वाङ तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका चर्चित मन्त्री हुन् । काठमाडौँका सडकका खाल्डा खुल्डीलाई व्यवस्थापन गर्नेमा उनको ठुलो चर्चा भएको थियो ।  उनले यस पटक पनि चुनावी मैदानमा उत्रिनुको कारण यसअघि मन्त्री हुँदा सुरु गरेका र सुरु गर्न बाँकी कामहरू पूरा गर्नु रहेको बताए । उनले बितेको पाँच वर्षमा पाँचथरको विकास अतुलनीय भएको पनि दाबी गरे । 

यी दुई बलिया उम्मेदवारबीच दोस्रो पटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धा हुन लागेको हो । २०७४ अघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुई पटक चुनाव जितेका थिए  भने कांग्रेस नेता आङ्देम्बेले चार पटक चुनाव लड्दा एकपटक जितेका थिए । आङ्देम्बेले क्षेत्र नम्बर २ र नेम्वाङले क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । आङ्देम्बे २०७० मा भएको संविधानसभा चुनावमा निर्वाचित हुँदा नेम्वाङ भने आम चुनावहरू २०४८ र २०५६ मा निर्वाचित भएका थिए । अहिले एउटै चुनाव क्षेत्र भएपछि उनीहरू एउटै मैदानमा चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।

गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने एमालेलाई त्यति सजिलो देखिँदैन । जिल्लाका ८ पालिका मध्ये ६ वटा पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ  भने माओवादी र एमालेले १/१  पालिका जितेका छन् । काँग्रेसले फिदिम नगरपालिका, कुम्मायक, हिलिहाङ, फालेलुङ, फाल्गुनन्द, तुम्वेवा गाउँपालिकामा जितेको हो भने माओवादीले मिक्लाजुङ गाउँपालिका र एमालेले याङवरक गाउँपालिकामा जितेको हो । 

वडागत मत परिणामलाई हेर्ने हो भने नेकपा एमालेको ३० हजार ९ सय ५८, नेपाली काँग्रेसको २५ हजार ६५, माओवादी केन्द्रको ११ हजार ८ सय ८, जनता समाजवादीको २ हजार ६ सय ४३, नेकपा एकीकृत समाजवादीको २ हजार १ सय ६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ हजार ९ सय ९ मत प्राप्त गरेका थिए । वडागत मत परिणाम हेर्दा एमालेको मत बढी भएता पनि सत्ता गठबन्धनको मत एमालेको भन्दा साढे १२ हजार बढी छ । 

यस्तै प्रतिनिधि सभा चुनावका लागी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जयबहादुर योङ्हाङ, राप्रपाका कमल बहादुर चेम्जोङ, नेकपा (माले)का दिनानाथ घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्र प्रसाद कुरुम्बाङ, जसपा नेपालका प्रेमराज लावती, राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङ्देन, जन समाजवादी पाटी नेपालका भिमबहादुर तामाङ, राप्रपाका मदन कुमार पोख्रेल र मङ्गोल नेशनल अर्गनाईजेशनका राजकुमार तुम्रोकले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा दल बहादुर आङ्देम्बे, बालकृष्ण काफ्ले, लाख बहादुर पालुङ्वा र बिष्टन लावतीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई वटा प्रदेश चुनाव क्षेत्र रहेको पाँचथरमा प्रदेश चुनाव क्षेत्र ‘क’ मा सत्ता गठबन्धन र एमालेका नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) बाट जिल्ला अध्यक्ष कमल जबेगु र एमालेबाट जिल्ला अध्यक्ष राजकुमार भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ ।  यसअघि एमालेमा रहँदा जबेगू अध्यक्ष पदमा भण्डारीसँग पराजित भएका थिए । 

प्रदेश ‘ख’मा भने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ र एमाले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समेत रहेका अइन्द्रसुन्दर नेम्वाङ प्रतिस्पर्धी बनेका छन् । मन्त्री आङ्बो भने पाँचथरको विकासे नेताको रूपमा चिनिन्छन् । यी दुई नेताबीच पनि पहिलोपटक चुनावमा प्रतिस्पर्धा हुन लागेको हो ।

प्रदेश सभा “क” मा १० र “ख” मा ९ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button