सप्तरीका ७१ प्रतिशत मतदानस्थल अति संवेदनशील

सप्तरी। मंसिर ४ मा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी सप्तरीमा २ सय ९५ मतदान स्थल तोकिएको छ भने ५ सय ३६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र अनुसन्धान विभागका अधिकारी सहितको बैठकले जिल्लाको सुरक्षा विश्लेषणपछि मतदान स्थललाई तीन तहमा विभाजन गरिएको छ ।
नेपाली सेना सहितको जिल्ला सुरक्षा समन्वय समितिले विभिन्न सूचना, स्थलगत सुरक्षा अध्ययन र विश्लेषण पछि २ सय ८ मतदान स्थललाई अति संवेदनशील, ८३ संवेदनशील र ४ लाई सामान्य ठहर गर्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउने तयारी गरिएको छ ।

सप्तरीका प्रहरी उपरिक्षक अविनारायण काफ्लेका अनुसार अति संवेदनशील मानिएका अधिकांश मतदान स्थल भारतीय सीमा नजिक पर्ने पालिकाहरू छन् । उहाँले सबै मतदान स्थलमा आवश्यक सुरक्षा प्रबन्ध मतदाताले सोचे भन्दा अब्बल रहने गरी सुरक्षा रणनीति तैयार पारिएको जानकारी दिनुभयो ।
उहाँले स्थानीय प्रशासन, निर्वाचन कार्यालय र सुरक्षा निकायका अधिकारी सम्मिलित टोलीले सबै मतदान स्थलको भ्रमण र सुरक्षा चुनौती विश्लेषण पछि सोही अनुसारको वर्गीकरण र सुरक्षा योजना तयार पारेको भन्दै मतदाताहरूलाई ढुक्क भएर मतदान गर्ने वातावरणका लागी कुनै कसर बाँकी न राखिने दाबी समेत गर्नुभयो ।
निर्वाचन सुरक्षाका लागी ३ हजार २ सय ७८ म्यादी प्रहरी र १ हजार ६ सय २० नेपाल प्रहरी परिचालन हुने उहाँले जानकारी दिनुभयो । यस बाहेक सेना र सशस्त्र प्रहरी समेत निर्धारण गरिएको घेरा भित्र रहेर सुरक्षा प्रबन्ध पनि मिलाउने भन्नुभयो।
सुरक्षामा कुनै कमजोरी नहुने दाबी गरेका उनले जिल्लाको विकट मानिएका क्षेत्र सहित नगरका चोक चोकमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागी समेत सुरक्षाकर्मी परिचालन हुने बताउनु भयो ।

जिल्लामा ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा सदस्य पदका लागी हुने निर्वाचनमा प्रतिनिधि सभा तर्फ ६९ र प्रदेश सभा तर्फ १ सय ७ गरी १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाता ४ लाख १८ हजार ३ सय ७४ छन् । जस मध्ये क्षेत्र नं। १ मा सबैभन्दा बढी १ लाख १३ हजार १ सय ९५ छन् । सबै भन्दा कम क्षेत्र नं। २ मा ९५ हजार ३ सय ९४ मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्