वर्षातका कारण सल्यानमा तीनको मृत्यु ,८४ घरपरिवार विस्थापित

सल्यान । बाढी पहिरोका कारण तीनको मृत्युसँगै सल्यानका १० स्थानीय तहमा ६४ घर पूर्णरुपमा क्षति भएका छन् भने ९१ घर पहिरोको जोखिममा परेका छन् । पहिरो र वर्षाले घर भत्किदा ८४ घरपरिवार विस्थापित भएका छन् ।
पहिरोले च्यापिएर शारदा नगरपालिका ८ मार्केका वर्ष १३ का अजय विक, पहिरोसँगै खसेको ढुङ्गाले लागेर त्रिवेणी गाउँपालिका २ गैरागिठीका ४४ वर्षीय चन्द्रबहादुर पुन र खोलाले बगाएर कालीमाटी गाउँपालिका ५ लामितराका ६५ वर्षीय नरबहादुर दर्लामीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानकका अनुसार शारदा नगरपालिकामा ६, बागचौर नगरपालिकामा ११, बनगाड कुपिण्डे नगरपालिकामा २३, कपुरकोट गाउँपालिकामा १३, त्रिवेणीमा ४, दार्मामा १, सिद्धकुमाखमा २, कुमाखमा ४, कालीमाटीमा ११, छत्रेश्वरी गाउँपालिकामा ९ परिवार विस्थापित भएका छन् ।
यस्तै शारदा नगरपालिकामा १, बागचौर नगरपालिकामा ४, बनगाड कुपिण्डे नगरपालिकामा २६, छत्रेश्वरीमा ४, कालीमाटीमा ८, कुमाखमा ९कपुरकोटमा ५, त्रिवेणीमा ३, दार्मामा १, सिंद्धकुमाख गाउँपालिकामा २ घर पूर्ण रुपमा क्षति भएका छन् ।
शारदा नगरपालिकामा १२, बागचौर नगरपालिकामा ८, बनगाड कुपिण्डे नगरपालिकामा ४, छत्रेश्वरीमा २, कालीमाटीमा ५, कुमाखमा १, कपुरकोटमा २, त्रिवेणी गाउँपालिकामा २ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । विस्थापित विभिन्न विद्यालयको भवनमा र आफन्तको आश्रयमा रहेको प्रहरी खनालले बताउनु भयो ।

बाढीपहिरोले उच्च जोखिममा परेका सबै परिवारलाई अहिले सुरक्षित स्थानमा राखिएको र उनीहरूलाई पालिकामार्फत खाने र बस्ने व्यवस्था मिलाइएको विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनु भयो ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले कपुरकोट गाउँपालिका ५ सल्लाममा बस्ती नजिकैबाट पहिरो जाँदा विस्थापित भएका १३ घरमध्ये ८ घरका परिवारलाई स्थानीय विद्यालयमा राखिएको र पाँच परिवार आफन्तको घरमा बसेको बताउनु भयो । विस्थापित भएका परिवारलाई पालिकाले खाने, बस्ने व्यवस्था मिलाएको र अन्य संस्थाहरूले पनि सहयोग गरिरहेको उहाँको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्