तपाईँ सुन्दै हुनुहुन्छः

नवौं राष्ट्रिय खेलकुद : महिला हक्कीमा गण्डकी विजयी

कास्की ।  पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । 

गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

गण्डकीका तर्फबाट सोनु बरालले १३ औँ मिनेटमा खाता खोलेकी थिइन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् । गण्डकीले दोस्रो हाफमा थप आक्रामक खेल्दै २ गोल थप्यो । खेलको १७ औँ र २६ मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीका लागि स्कोर बढाइन्

त्यस्तै , खेलको तेस्रो क्वाटरमा गण्डकीले थप २ स्कोर बढायो । खेलको ३४ औँ मिनेटमा सोनु बरालले पुनः एक गोल गरिन् भने कमलाले ४२ औँ मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन् । अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दीपशिखा पौडेलले ५५ औँ मिनेटमा गोल थपिन् । 

यसअघि उद्घाटन खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने भनिए पनि जर्सी नआइपुगेपछि गण्डकी र प्रदेश १ बीच प्रतिस्पर्धा गराइएको थियो ।

दोस्रो खेलमा बागमती र सुदूरपश्चिम अहिले खेलिरहेका छन् । ७ टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button