बाराको क्षेत्र नं.४ मा पूर्व मन्त्रीहरुबिच कडा प्रतिस्पर्धा
बारा । बाराको क्षेत्र नं. ४ मा दुई जना पूर्व मन्त्रीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिस्पर्धा देखिनेमा पर्व श्रम तथा रोजगार सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ र पूर्व युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ रहनुभएको छ ।
पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठले बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको छ भने पर्व मन्त्री मियाले एमाले–जसपा गठबन्धनमा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।
पूर्व मन्त्री श्रेष्ठले बि.स.२०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट तनहुँ जिल्लाको क्षेत्र नं.१ मा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्नुभएको थियो ।
वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाको क्षेत्र नं.१ बाट लड्ने इच्छा जाहेर गरेपछि पूर्व मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र छोडेर बारामा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
गठबन्धनबाट प्रदेशसभा सदस्यतर्फ ‘क’ मा नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष समेत रहेका क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ‘ख’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेश प्रदेश इन्चार्ज तथा मुख्यमन्त्रीको दाबेदार जितेन्द्र सोनलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमाले–जसपा गठबन्धनबाट प्रतिनिधिसभामा एकवाल मियाँ, प्रदेशसभा सदस्यतर्फ ‘क’ मा नेकपा एमालेका देव नारायण थारु र ‘ख’ मा जसपाका आत्माराम साहले उम्मेदवारी दिनुभएको छ ।
तत्कालीन राजपा नेपालबाट चुनाव जित्नुभएका पूर्व मन्त्री मियाँले सत्तारुढ गठबन्धनबाट टिकट नपाउने भएपछि पार्टी परिवर्तन गर्नुभएको हो ।
२०७४ सालको निर्वाचनमा पूर्व मन्त्री मियाँले थारुलाई पराजित गर्नुभएको थियो । एमालेले क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यका लागि देवनारायण थारुको एकल नाम सिफारिस गरेको थियो । मिया एमाले जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा उठेपछि थारुलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाइएको हो ।








प्रतिक्रिया राख्नुहोस्