खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र

सोलुखुम्बु । पर्यटन सिजनको सुरुमै मौसम प्रतिकुलताका कारण खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र भएका छन् ।
कोरोना कहरले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा फेरी मौसमले चुनौती दिएको हो ।
तीन दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र बनेको लुक्लाका लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार तेन्जिङ हिलारी विमानस्थल र गोरक्सेप क्षेत्रमा पर्यटकहरू मौसम सुधारको पखाईमा बसिरहेका छन् ।
भिजिबिलिटी कम भएकाले उडान ठप्प रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज द्वारिकालाल अछामीले बताउनुभयो ।
अछामीका अनुसार रामेछापबाट लुक्ला आउनका लागि करिब दुई हजार पर्यटक पखाईमा रहेका छन् । उडान नहुँदा अलपत्र यात्रीका लागि रामेछापमा अस्थायी बासको प्रबन्ध पनि भइरहेको छ । अधिकांश विदेशी पर्यटकलाई यतिखेर रामेछापदेखि मुलकोटका होटल, टेन्टमा बसोबासको व्यवस्था गरिएको तारा एयरका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयो ।
दैनिक दुई वटा ट्विनअटर जहाजमार्फत १५ वटा उडान गर्दै आएको कम्पनीले चार दिनयता कुनै उडान गर्न नसकेको उहाँले बताउनुभयो ।
आइतबार दिउँसोसम्म रामेछाप–लुक्ला तीनवटा हेलिकोप्टरले मात्र उडान गरेको लुक्ला विमानस्थलले जनाएको छ ।
बडादसैँको महाअष्टमीका दिनसम्म तारा, सीता र समिट एयरका रामेछाप–लुक्ला दैनिक ३० वटा नियमित तथा नन–सेडुल उडान हुँदै आएको थियो । तीन दिनदेखि मौसम प्रतिकुलताका कारण फिक्स विङतर्फका तीन वटै कम्पनीको जहाज उड्न नसकेको समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताउनुभयो ।
बाक्लो कुइरोका कारण भिजिबिलिटी अत्यन्त न्यून रहेकोले हवाईजहाज तथा हेलिकप्टर कुनै पनि उडान तथा अवतरण हुन नसकेको हो ।
विमानस्थल वरपरको भिजिबिलिटी ५० मिटरभन्दा तल रहेको छ । जसलाई उडान क्षेत्रमा शून्य मानिन्छ । सिजनको सुरुमा नै मौसमले साथ नदिँदा समस्या उत्पन्न भएको व्यवसायीहरूले बताएका छन् ।







प्रतिक्रिया राख्नुहोस्