तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी र घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भएको वर्षासँगै खसेको पहिरोमा परेर बेपत्ता भएकाहरूको खोजी कार्य र घाइतेको उपचारमा कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । 

गृहमन्त्री खाणले प्रभावितको पुनः स्थापन कार्यमा कुनै कसर बाँकी नराख्न गृह प्रशासन र प्रजिअलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । 

गृह प्रशासनमार्फत घाइतेको उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्थापन गरिए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिनुभयो । उहाँले सो क्षेत्रमा अहिले पनि पानी परिरहेको जानकारी दिनुभयो ।

प्रजिअका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरामा पुरिएर यो समाचार तयार पार्दासम्म सात जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएकामध्ये एकको अवस्था गम्भीर रहेको छ । उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलतर्फ प्रजिअसहित जिल्ला सुरक्षा मितिको टोली गइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button