तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप फुटबल असोज २५ देखि 

चितवन । प्रथम बाग्मती प्रदेश मुख्यमन्त्री फुटबल प्रतियोगिता असोज २५ गतेदेखि हुने भएको छ । 

पिप्ले युवा समाज राप्ती नगरपालिका १ को आयोजनामा यही असोज २५ गतेदेखि प्रतियोगिता हुने भएको हो । कार्तिक १४  गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालद्वारा हुनेछ । 

पिप्ले युवा समाजको मैदानमा हुने प्रतियोगितामा बागमती प्रदेशसँगै गण्डकी र मधेश प्रदेशका १६ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । उद्घाटन खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब र निजगढ यूथ क्लब बारा भिड्ने प्रतियोगिता संयोजक चिरञ्जीवी पाठकले बताउनुभयो  । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतियोगितामा विजेता हुने छिमले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार प्राप्त गर्ने पाठकले बताउनुभयो ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो  । प्रतियोगिताको लागि दर्शकका लागि दुई हजार क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । क्वाटर फाइनलसम्मको खेल हेर्नका लागि ३० रुपैयाँको टिकट तथा सेमिफाइनल र फाइनलका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उहाँले बताउनु भयो  ।

पाठकका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि २४ लाख ५० हजार  खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचेको रकम राप्तीमा स्पोर्टस एकेडेमी बनाउनका लागि खर्च गर्ने आयोजकको योजना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button