तपाईँ सुन्दै हुनुहुन्छः

सत्तारुढ गठबन्धन : अन्तिम चरणमा प्रतिनिधिसभातर्फको क्षेत्र बाँडफाँट, प्रदेशसभाको आज सकिने

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ । पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी (जसपा) बाहिरिएको छ ।

जसपाकै कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेको पाँच दलीय कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिनुभयो । शीर्ष नेताको शुक्रबारको बैठकमा पनि कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विषयमा छलफल भयो ।

प्रतिनिधिसभातर्फको करिब अन्तिम भएकाले प्रदेशसभाका विषयमा छलफल भइरहेको छ । प्रदेशसभाको बाँकी छलफल शनिबार गर्ने निष्कर्षकासाथ शुक्रबारको बैठक सकिएको जानकारी पनि उहाँले दिनुभयो । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै शुक्रबार अन्तिम रुप दिन निर्णायक वार्तामा नेताहरु जुटेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भोली असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि आज एक दिनमात्र बाँकी रहेकाले पनि आज बिहानै सहमतिलाई अन्तिम रुप दिने तयारी गरिएको छ ।

जसपा बैठकबाट बाहिरिएपछि दुई ठूला नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग पनि छलफल गरिरहेका छन् । लोसपा पनि आजको गठबन्धन बैठकमा सहभागी हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button