तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान कपुरकोटमा पहिरोले तीन घर बगायो, १४ घरपरिवार विस्थापित

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका ५ को एक बस्ती पहिरोले बगाएको छ । पहिरोले बस्ती नै बगाएपछि सल्लाम गाउँका १४ घर परिवार विस्थापित भएका छन् ।

अविरल वर्षापछि आएको पहिरोले सल्लाम गाउँका तीन घर र तनि गोठ पुरिएका छन भने एक दर्जनभन्दा बढी घर उच्च जोखिममा रहेका छन् । पहिरोले घरबास बगाएका पीडित परिवार र उच्च जोखिमका कारण विस्थापित परिवारलाई कपुरकोट ५ खालि स्थित सिद्ध आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको ५ नं वडा अध्यक्ष होमराज खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्लामका केशरसिंह रानाको एउटा घर र एउटा गोठ पहिरोमा पुरिएको छ । गोठमा भएका चार वटा बाख्रा मरेका छन । यस्तै विजयसिंह बुढाको एउटा घर र एउटा गोठ पुरिदा दुई भैँसी र पाँच  खसी बाख्रा मरेका छन् । 

प्रहरीका अनुसार वीरबहादुर रानाको पनि घर पहिरोमा बगेको छ । गोपी बुढाको पनि गोठ पहिरोमा पुरिएको जानकारी दिएको छ ।

पहिरोको उच्च जोखिममा रहेका सल्लाम गाउँ दुर्गा बलाल, चूर्ण बलाल, भक्त बहादुर राना, कविराम राना, डण्ड बहादुर घर्ती, चन्द्रकली विक, विजय घर्ती, नर बहादुर बाँठा, मनिसा बाँठा र हस्तमणी बाँठाको परिवारलाई विद्यालयमा स्थानान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो । 

पहिरो पीडित परिवारलाई गाउँपालिकाको समन्वयमा स्थानीय मिलनबजार व्यवस्थापन समितिले खाना तथा विद्यालयमा बसाइको व्यवस्थापन गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button