तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन पत्र दर्ताका लागि आवश्यक तयारी पूरा 

धनगढी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यका लागि आवश्यक तयारी पूरा भएको छ । 

निर्वाचन आयोगले यही असोज २३ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको उम्मेदवारी मनोनयन पत्र दर्ताको कार्यक्रम निर्धारण गरेको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य पूरा भएको छ । हाल उम्मेदवार मनोनयन पत्र लगायतका निर्वाचन सामाग्री सहित कर्मचारीहरू निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आवश्यक तयारीमा जुटेका छन् । 

निमित्त क्षेत्रीय निर्वाचन अधिकारी प्रेमराज भट्टले बिहीबार कैलालीको धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यस प्रदेशका सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खोल्ने कार्यले पूर्णता पाएको बताउनु भयो । प्रतिनिधि सभातर्फ दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाहरूमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सम्बन्धित निर्वाचन क्षेत्रमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । 

यस्तै एउटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लाहरूमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको उहाँले जानकारी दिनुभयो । उहाँले ती सबै कार्यालयमा निर्वाचन अधिकृतसहित नौ जना कर्मचारीको टोली खटिगएको उल्लेख गर्दै भट्टले असोज २३ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य (प्रत्यक्षतर्फ) उम्मेदवारी मनोनयन पत्र दर्ताका लागि प्राविधिक तथा व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।

यही असोज २३ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको भट्टले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा १६ जना र प्रदेश सभा सदस्यमा ३२ जना (सांसद) निर्वाचित हुने उहाँले जानकारी दिनुभयो । 

सुदूरपश्चिममा साढे १६ लाख मतदाता सहभागी हुने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेश भर करिब साढे १६ लाख भन्दा बढी मतदाता सहभागी हुने भएका छन् । 

निमित्त क्षेत्रीय अधिकारी प्रेमराज भट्टले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा गरी करिब १६ लाख ५८ हजार ४ मतदाता रहेका छन् । त्यसमध्ये ८ लाख ४२ हजार ७७४ महिला र ८ लाख १५ हजार २१२ पुरुष मतदाता रहेका छन् । 

यस्तै १८ जना अन्य मतदाता रहेका छन् । जसमा सबैभन्दा बढी कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता रहेको निर्वाचन कार्यालयको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशभर ११ सय बढी मतदान स्थल कायम
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ११ सय भन्दा बढी मतदान स्थल कायम गरिएको छ । 

प्रदेशका कैलाली सहित नौ वटै जिल्लामा गरी १ हजार १ सय ६१ वटा मतदान स्थल कायम गरिएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ । यस्तै प्रदेशभर २ हजार १ सय ४६ मतदान केन्द्र तोकिएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button