दर्जनौँ सवारी साधन कारबाहीमा
सोलुखुम्बु । पछिल्लो दुई सातायता सोलुखुम्बुमा क्षमता भन्दा बढी यात्रु बोक्ने र यात्रुसँग बढी भाडा लिने दर्जनौँ सवारी साधन कारबाहीमा परेका छन् ।
दशैँको नाममा सीट क्षमता भन्दा बढी यात्रु बोकेर जोखिम सिर्जना गर्ने २४ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कारबाही पर्ने अधिकांश सवारी साधनहरू ग्रामीण सडकमा सञ्चालित जीप रहेको ट्राफिक प्रहरी इन्चार्ज कृष्णकुमार कटवालले जानकारी दिनुभयो ।

दशैँतिहार जस्ता चाडपर्वलाई कारण देखाउँदै बोलेरोको पछाडिको ढाला तथा सिटमा समेत बढी यात्रु बोक्ने सवारी साधनलाई प्रहरीले निगरानी बढाएको छ । असोज १ गतेयता जिल्लामा १२ वटा सवारी चालक मादक पदार्थ सेवनमा कारबाहीमा परेका छन् ।
नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई पाँच सय रुपियाँदेखि दुई हजार रुपियाँसम्म जरिवाना लिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

त्यस्तै, यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी चालकलाई सोलुखुम्बु प्रहरीले कारबाही गरी बढी भाडा यात्रुलाई नै फिर्ता गराएको छ । चाडपर्वको नाममा यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने ना १ ज ५५२१ नम्बरको सुमोका चालक सिन्धुपाल्चोक घर भएका २७ वर्षीय विवेक खड्कालाई कारबाही गरी बढी भाडा फिर्ता गराइएको हो ।
ट्राफिक प्रहरी पोष्ट पत्तालेका सहायक हवल्दार सुदिन अधिकारीका अनुसार काठमाडौँ–सोलुखुम्बु सुमोको भाडा प्रतिव्यक्ति दुई हजार ३७५ रुपियाँ भए पनि चालक खड्काले छ जनालाई प्रतिव्यक्ति ३ हजार रुपियाँ र दुई जनालाई तीन हजार पाँच सय रुपियाँका दरले भाडा लिएको पाइएको हो ।
मनपरी भाडा असुल्ने सवारी चालकलाई नियमअनुसार जरिवाना समेत गराइएको प्रहरीले जनाएको छ । चाडपर्वको मौकामा व्यवसायीहरूले यात्रुलाई ठग्ने क्रम बढेकाले चेकजाँचलाई थप कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजङ शाहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्