तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउँछ’

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउने बताउनुभएको छ ।

भ्रष्टाचारका कारण देश आर्थिक सङ्कटबाट माथि उठ्न नसकेको औँल्याउँदै उहाँले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिनुभयो । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।”

file photo

आयोगको दायरा धेरै भए पनि काम कम भएको टिप्पणी गर्दै उहाँले जनतालाई महसुस हुने गरी काम गर्न उहाँले सुझाव दिनुभयो । जनताको दुःख र पसिनाले तिरेको रकम दुरुपयोग हुनु विडम्बना भएकाले भ्रष्टाचारीको शिर ठाडो नहुने गरी कारबाही प्रक्रिया अघि बढाउन समेत उहाँले आग्रह गर्नुभयो । सडक निर्माण लगायत पूर्वाधार निर्माणमा भएका अनियमितताबारे छानबिन गर्नुपर्ने र कारबाही गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रमुख शेरचनले जनताले अरूबाट आशा गर्न छोडे पनि अख्तियारमाथि अझै भरोसा रहेकाले त्यो भरोसा रहने गरी काम गर्न सुझाव दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आयोगको बुटवल कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा नौ सय उजुरी प्राप्त भएकामा ८४ प्रतिशत उजुरी फर्छ्यौट भएको जानकारी गराउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button