गृहसचिव सिंहद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ । गृहसचिव विनोद प्रकाश सिंहले आज सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गर्नुभएको छ ।
गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यम मार्फत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा गरेका काम कारबाही र सङ्गठनका समस्या र चुनौतीहरूका बारेमा जानकारी लिनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले सीमित श्रोत साधनको बाबजुद कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरुको सुधारको लागि समयानुकूल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।
उहाँले आगामी निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्त्वपूर्ण रहने तथा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिहरुले आफु मातहतकालाई उचित ढंगले परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा कायमा गर्न सक्षमता, निपूर्णता तथा तदारुकताका साथ कार्य गर्नु हुनेछ भन्ने अपेक्षा राखेको बताउनुहुँदै उहाँले सीमा सुरक्षामा काठिन परिस्थितिका बाबजुद परिचालित कर्मचारीहरूप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।
गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै जस्तो सुकै कठिन परिस्थितिमा समेत सहजताका साथ दायित्व निर्वाह गर्दै आइरहेको उल्लेख गर्नुहुँदै गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्ति विकासको लागि प्राथमिकताका साथ कार्य गरिहरेको बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्नुहुँदै गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरशः पालना गरी इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरूलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, नेपाल सरकार गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोख्रेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा काठमाडौँ स्थित सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति, गणपति र गुल्मपतिहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया राख्नुहोस्