तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना

सोलुखुम्बु  । सोलुखुम्बुका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

जिल्लाको पत्ताले र जोरबौद्धमा प्रहरीले चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ७ जोरबौद्धमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अनिल खनालले जिल्लामा भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि विशेष सुरक्षा योजना बनाइएको बताउनुभयो ।

यात्रु सहायता कक्षमा यात्रुको गुनासो, सवारी साधन चेकजाँच, भाडा दर चेकजाँच, यातायात व्यवसायी परिचय खुल्ने कागजात बोके नबोकेको जाँचबुझ गरिने प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले बताउनुभयो ।

सोलुदूधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनामग्याल्जेन शेर्पाले प्रहरी र स्थानीय बीचको समन्वयमा सम्भावित आपराधिक घटना न्यूनीकरण गर्न सकिने भन्दै यस कार्यमा प्रहरीलाई पूर्ण सहयोग गर्ने बताउनुभयो ।

चाडपर्वमा यात्रा गर्दा आफू नठगिन यात्रु आफै सचेत हुन आवश्यक रहेको भन्दै यात्रुलाई ठगिनबाट जोगाउने दायित्व प्रहरीको मात्र नभई सबैको रहेको उहाँको भनाइ छ । पत्तालेमा एक थान सिसी टिभीबाट पनि प्रत्यक्ष निगरानी गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button