देशभर थप ७४ जनामा सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौँ । देशभर थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा चार हजार एक सय २६ जनाको परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै आज थप एक सय १६ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् भने कोरोना निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ ।
कोरोना सङ्क्रमणका कारण आज एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म सङ्क्रमणका कारणले १२ हजार १७ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी, कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८३ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ ।
यस्तै १५ जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । होम आइसोलेशनमा एक हजार दुई सय ३४, संस्थागत आइसोलेशनमा ४९ र सघन उपचार कक्ष (आइसियु)मा १० जनाको उपचार भइरहेको छ ।
विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि नलगाएको मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्