तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय खेलकुदको ट्रफी टुर विराटनगरमा प्रदर्शन

काठमाडौँ । राष्ट्रिय खेलकुदको ट्रफी टुर प्रदेश नं १ को विराटनगरमा शनिबार प्रदर्शन गरिएको छ । विराटनगरस्थित सहिद रङ्गशालामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गर्नुभएको थियो ।

राष्ट्रिय खेलकुदको नवौँ संस्करण गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी टुर पहिलो पटक गरिएको हो । ट्रफी प्रदर्शनी गर्दा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्य नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र अल्ट्रा धाविका मिराको पनि उपस्थिति थियो ।

प्रदेश १ का सामाजिक तथा खेलकुद मन्त्री राजन राईले नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई विगतमा भन्दा पुरस्कार रकम बढ्ने जानकारी दिनुभयो ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले ३५ खेलमा ७ सय ६ खेलाडी तथा प्रशिक्षक र व्यवस्थापक गरी ८ सय २० जनाको सहभागिता रहने जानकारी दिनुभयो । भदौ २८ गतेदेखि असोज ८ गते सम्म भएको प्रदेश छनोटमा ४ हजार १ सय ५२ खेलाडीको सहभागिता रहेको वाग्लेले बताउनुभयो ।

ट्रफीलाई असोज ९ गते सशस्त्र प्रहरी बल (एपीएफ) को हल्चोकस्थित मुख्यालय, असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिर पुर्‍याइने छ । अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा पुर्‍याइने छ ।

यसअघि ट्रफीलाई सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको हेटौँडा, नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो । नवौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र एनआरएनए गरी ११ टोलीका खेलाडीको सहभागिता रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button