तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिवद्धः मन्त्री भुसाल
भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रपतिको संविधान विपरीत कदमले राजनीतिक दुर्घटनाको सम्भावना बढेको बताउनुभएको छ ।

भक्तपुरमा आज आयोजित शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक साधारण सभामा मन्त्री भुसालले संवैधानिक राष्ट्रपतिले संसद्बाट पुनः पारित गरी पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताउनुभयो ।
मन्त्री भुसालले नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय नगर्ने र गल्ती पनि नगर्ने सम्मानित संस्थाको रुपमा राखेको भन्दै त्यसलाई विवादमा पार्ने काम भएको बताउनुभयो ।
मन्त्री भुसालले राष्ट्रपति जस्तो सम्मानजनक अभिभावकत्व ग्रहण गरेको संस्था विवादमा नपरोस् भन्नेमा आफूहरू सजग रहेको समेत बताउनुभयो ।
नागरिकताको विषयमा प्रमुख प्रतिपक्षीले भ्रम फैलाएको उहाँले बताउनुभयो । २०६३ को अन्तरिम संविधानमा रहेको व्यवस्था नै अहिलेको संविधानमा रहेको भन्दै उहाँले अहिले राजनीतिक रङ्गमञ्चमा गलत तर्क र गलत बहस भएको बताउनुभयो ।
सरकार वर्तमान राजनीतिक अन्योलका बीच कुनै राजनीतिक दुर्घटना नहोस्, प्रतिक्रान्ति र पश्चागमन नहोस् भन्ने कुरामा सचेत रहेको उहाँको भनाई थियो ।
मन्त्री भुसालले निर्वाचनलाई सहज ढंगले तोकिएकै मितिमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्