तपाईँ सुन्दै हुनुहुन्छः

भजनीका ४ हजार परिवार बाढी पीडित घर फर्के, ३ हजार अझैँ बाँकी

टीकापुर कैलाली । कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । 

डुबानमा परेका घरहरूमा पानी सुक्दै गएपछि बाढी पीडितहरू घर फर्कन थालेका हुन् । 

बाढीका कारण भजनीमा ७ हजार ९६ परिवार विस्थापित भएका मध्ये ४ हजार परिवार एक सातापछि घर फर्किएका छन् । अझैँ ३ हजार बढी परिवार घर फर्कन सकेका छैन । 

भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि आज घर फर्किएको छ । घर फर्के पनि घरका अन्नपात, लुगाकपडा सबै नष्ट भएकाले उहाँको परिवार राहत पाएमा खाउला भन्ने आशामा बसेको छ  । 

भजनीकै धनबहादुर चौधरीको परिवार पनि घर फर्किएको छ । उहाँको परिवार घर फर्कँदा घरका भित्ता भत्किएका, अन्न राख्ने माटोका डेहरी समेत फुटेका छन् । वडा नं. ८ का वडा सदस्य लल्तु डगौरा थारुको परिवारको पनि बाढीले बिचल्ली बनाएको छ । उहाँ पनि एक साता हुलाकी सडकमा बसेर घर फर्कनुभएको छ । 

भजनी नगरपालिकाले बाढीपछिको क्षतिको विवरण लिन थालेको छ । 

नगरपालिकाले प्रभावित स्थानमै गएर लागत सङ्कलन कार्य थालेको भजनी नगरपालिकाका  नगर प्रमुख केवल चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button