बिजौरी दहवन सडक खण्ड दसैँ अघि नै सञ्चालन गरिने

दाङ । वर्षायाममा आएको पहिरोको कारण अवरुद्ध रहेको बिजौरी दहबन सडक खण्ड दसैँ अगावै खोलिने भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका र रोल्पाको रुन्टीगढी गाउँपालिकाका प्रमुखबीच भएको छलफल पश्चात् अवरुद्ध सडक सञ्चालन गर्ने सहमति भएको हो ।
यसका लागि दुवै पालिकाले आ—आफ्ना यान्त्रिक साधनहरू प्रयोग गरेर गर्ने सहमति भएको छ । तुलसीपुरले दाङ खण्ड र रुन्टीगढीले रोल्पा खण्डमा काम गर्ने सहमति भएको छ । छलफलका क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पालिकाभित्र पर्ने सुँगुर खोलामा पालिकाकै बजेटमा संरचना निर्माण गरेर बाह्रै महिना सडक सञ्चालनमा ल्याएको बताउनुभयो ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले सडक क्षेत्रमा पुल निर्माण गर्नका लागि पुलको डिटेल सर्वे गरेर प्रदेश तथा संघीय सरकार मार्फत् माग गरिएको बताउनुभयो । दुवै पालिकाका नेतृत्वको अग्रसरतामा उक्त सडक सञ्चालन हुने भन्दै छलफल गर्नुभएको हो ।
दाङ र रोल्पाको वैकल्पिक मार्गका रुपमा बिजौरी—होलेरी—दहवन सडक खण्डले रहेको छ । उक्त सडकले दाङ, रोल्पा र सल्यानलाई जोड्ने मियोको रुपमा रहन सक्ने आकलन गरिएको छ । बिजौरी हुँदै दहवन सडक खण्डको दुरी २८ किलोमिटर मात्रै रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्