तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा राजनीति नगरौँ : शिक्षा राज्य मन्त्री यादव

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले विद्यालयलाई राजनीतिक मैदान बनाउन नहुने बताउनुभएको छ ।

शिक्षा पत्रकार समाजको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राज्यमन्त्री यादवले शिक्षण संस्था बालबालिकाको मन्दिर भएकाले विश्वविद्यालय र विद्यालयमा तालाबन्दी, अवरोध तथा राजनीति क्रियाकलाप नगर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सरकारले हालै सार्वजनिक गरेको शिक्षाको सोचपत्रले शिक्षा विकासको समग्र पक्ष समावेश गरेको जानकारी गराउनुभयो । 

कार्यक्रममा सार्वजनिक शिक्षाको सुधारमा समर्पित विभिन्न शिक्षासेवीलाई सम्मान गरिएको  छ । 

धनुषाको जनता माविका प्रधानाध्यापक पवन मण्डल, काठमाडौँको जनकल्याण माविका प्रधानाध्यापक कुमारीकमला राई र विश्व निकेतन माविका व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठ र काभ्रेको जनज्योति माविका प्रधानाध्यापक भानुभक्त मैनालीलाई सम्मान गरिएको छ ।

यस्तै समाजले स्थापना गरेको रु २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टकी पत्रकार तारा चापागाईँलाई प्रदान गरिएको छ ।

पिपल्स क्राफ्ट एक्सर्टका सञ्चालक तथा समाजसेवी गोपी कँडेलको रु दुई लाख २२ हजार २२२ सहयोगमा सो पुरस्कार कोष स्थापना भएको हो । 

कार्यक्रममा अक्षय कोष स्थापना गराएकामा व्यवसायी कँडेललाई पनि सम्मान गरियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button