साङ्केतिक भाषालाई राष्ट्रिय भाषाका रूपमा मान्यता दिनुपर्ने माग
काठमाडौँ । राष्ट्रिय बहिरा महासङ्घ नेपालले साङ्केतिक भाषालाई राष्ट्रिय भाषाका रूपमा मान्यता दिनुपर्ने माग गरेको छ ।
महासङ्घले यहाँ आयोजना गरेको ‘शिक्षामा साङ्केतिक भाषाको महत्त्व’ विषयक अन्तरक्रियामा अध्यक्ष केपी अधिकारीले सरकारले साङ्केतिक भाषालाई अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । साङ्केतिक भाषाबारे सरकारी तवरबाटै स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।
महासङ्घले बहिरा नागरिकलाई गुणस्तरीय शिक्षाका लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’ को व्यवस्था गर्नुपर्ने, साङ्केतिक भाषाका शब्दहरू चार हजार सात सय मात्रै रहेकाले साङ्केतिक भाषाको विकास गर्न साङ्केतिक भाषा अनुसन्धान केन्द्रको स्थापना गर्नुपर्ने र त्यसका लागि सात सय ५३ वटै स्थानीय तहमा दोभाषेको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।
अध्यक्ष अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै हरेक सार्वजनिक कार्यालयमा दोभाषेको व्यवस्था गर्नुपर्ने र त्यसका लागि दोभाषे उत्पादन गर्न तालिम केन्द्रको स्थापना गर्नुपर्ने तथा बहिरा नागरिकको सीप, क्षमता र आवश्यकताका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले साङ्केतिक भाषालाई थप व्यवस्थित गर्न मन्त्रालयले योजना बनाइरहेको बताउनुभयो ।
युनिसेफद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार ५ देखि १२ वर्ष उमेर समूहका कूल अपाङ्गता भएका बालबालिकामध्ये ३० प्रतिशत बालबालिका अझै विद्यालयभन्दा बाहिर छन् । सरकारी प्रतिवेदनअनुसार सरकारले सञ्चालन गरेका ३५ हजार नौ सय ९३ बाल विकास केन्द्रमा नौ लाख ७३ हजार नौ सय बालबालिका सिकिरहेका छन् तर यिनमा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या भने तीन हजार दुई सय ७० मात्र छ । जनगणना २०६८ को प्रतिवेदनमा उल्लेख भएअनुसार कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशत मात्र अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्