वासिङ्टन डिसीमा बृहत् दसैँ तिहार मेलाको आयोजना हुने
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्यान्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी यही सेप्टेम्बर २५ (असोज ९) मा वासिङ्टन डिसीमा बृहत् दसैँ तिहार फेस्टिबलको आयोजना गरिएको छ ।
अमेरिकामा बसोबास गरिरहेका नेपाली र विदेशीमाझ नेपाली संस्कृतिको प्रवर्द्धन गर्न फेस्टिबल कोसेढुङ्गा रहने कार्यक्रम संयोजक राजश्री श्रेष्ठले बताउनुभयो । स्थानीय बुल रन पार्कमा आयोजना हुने उक्त बृहत् दसैँ तिहार फेस्टिबल अनेस्ट रियल स्टेटको प्रस्तुति तथा थ्रि ई इन्टरटेनमेन्ट नामक संस्थाले व्यवस्थापन गर्ने बताइएको छ ।
मेलामा दसैँ बजार, नेपाली खानाका परिकार, नेवारी खाना, सेल रोटी, गहना पसल र अन्य विभिन्न सामानका स्टलको व्यवस्था रहनेछ । मेलामा दिउँसोको समय मङ्गल धुन, लाखे नाच, रथ प्रदर्शनी लगायतका सांस्कृतिक कार्यक्रम र तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति हुने श्रेष्ठले जानकारी दिनुभयो । आयोजकका अनुसार दिवा समयका सबै प्रस्तुति अवलोकन गर्न र सहभागी बन्नका लागि निःशुल्क प्रवेशको व्यवस्था रहनेछ ।
त्यसैगरी साँझको समयमा प्रसिद्ध गायक एड्रिन प्रधान, निमा रुम्बा र अमेरिकामा रहेका स्थानीय नेपाली ब्यान्डका सदस्यले पनि साङ्गीतिक प्रस्तुति दिनेछन् । उक्त मेलामा नेपालको प्रसिद्ध प्रकाशन गृह फाइन प्रिन्टले नेपाली पुस्तक प्रदर्शन गर्नेछ । विभिन्न इच्छुक व्यावसायिक प्रतिष्ठानलाई आफ्नो सामानको स्टल राख्न आह्वान गरेकामा निकै उत्साहजनक प्रतिक्रिया पाएको श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजकका अनुसार वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्यान्डमा रहेका नेपाली डायस्पोरा र अन्य सहरहरूमा रहेका नेपाली र नेपाली भाषी गरी झण्डै पाँच हजारको सहभागिता रहनेछ । यस प्रकारको कार्यक्रमले चाडपर्वका बेलामा विदेशमा रहँदा पनि स्वदेश र गाउँघरकै झल्को मेटाउने अपेक्षा गरिएको कार्यक्रमको संयोजनमा खटिनुभएकी मनिषा प्रसाईँ अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमका लागि गैर आवासीय नेपाली सङ्घ भर्जिनिया च्याप्टर, आरएनआर ग्रुप, सुप्रिमियम इन्टरटेनमेन्ट र टेन्डर हर्ट्स फाउण्डेशनको सहयोग रहने अधिकारीको भनाइ छ । फेस्टिबलको समापनपछि केही गैरनाफामूलक संस्थालाई सहायता प्रदान गरिनेछ ।
रासस








प्रतिक्रिया राख्नुहोस्