शितगंगा नगरपालिकाले गाउँमै पुगेर दियो अपाङ्गता परिचय पत्र

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले गाउँमै पुगेर अपाङ्गता परिचय पत्र वितरण सुरु गरेको छ ।
पालिकाको केन्द्र ठाडामा जान एक दिन लाग्ने वडा नम्बर ९ को लौरी तथा आसपासमा रहेका गाउँहरूमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताउनुभयो ।
घरमै पुगेर परिचय पत्र दिएपछि स्थानीयहरू पनि खुसी भएका छन् । शितगंगा नगरपालिकाले लामो समयदेखि वितरण नगरिएको अपाङ्गता परिचय पत्र वितरण सुरु गरेको हो ।
सरकारले ’क’ र ’ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएकाले त्यसका लागि अपाङ्गता परिचयपत्र अनिवार्य हुन्छ ।
नगरपालिकामा केही दिनदेखि सञ्चालन गरिएको शिविरमा विभिन्न वडाका सयभन्दा बढी निवेदनका आधारमा एक जनालाई (क) वर्ग, १९ जनालाई (ख) वर्ग, २९ जनालाई (ग) वर्ग १५ जनालाई (घ) वर्गको परिचय वितरण गरिएको छ ।
अब हरेक महिनाको १५ गते वितरण हुने प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिनुभयो । छुटेका वडाहरूमा पनि त्यही पुगेर वितरण गर्ने उहाँको भनाइ छ ।
यस्तै भौगोलिक रूपमा टाढा र आउन समस्या भएका वडा नम्बर ९ र १४ का विभिन्न गाउँमै पुगेर परिचय पत्र वितरण गरिएको नगर उपमेयर गीता भाटले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्