अपाङ्गमैत्री निर्वाचन प्रणालीको माग
बारा । अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार, सहभागिता र अपाङ्गमैत्री निर्वाचन प्रणालीका लागि बाराको सिमरामा सरोकारवालाहरूसँग संवाद भएको छ ।
नेत्रहीन युवा संघ नेपाल बाराको आयोजना भएको संवादमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दल र निर्वाचन प्रणाली अपाङ्गमैत्री हुनुपर्ने कुरामा जोड दिइयो ।

नेत्रहीन युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष शिव चापागाईँले अपाङ्गता भएका व्यक्तिहरूको मतदाता नामावलीमा व्यवस्थित तथ्याङ्क नराखिएका कारण राष्ट्रिय समावेशी आयोगमा अपाङ्गताको सवाल ओझेलमा परिरहेको दुखेसो गर्नुभयो ।
समानुपातिक निर्वाचन प्रणालीको बन्द सुचीमा उम्मेदवारको नाम दलहरूले सूचीकृत गर्दा अनिवार्य अपाङ्गता भएका व्यक्तिहरू प्रतिनिधित्व हुनुपर्ने, मतदाता शिक्षा, मतदान केन्द्रहरू र निर्वाचनमा उम्मेदवारी अपाङ्गमैत्री हुनुपर्ने माग बारा जिल्ला अपाङ्ग सेवा संघका अध्यक्ष गंगा वाग्लेले गर्नुभयो ।

बाराका निर्वाचन अधिकृत सरोज चौधरीले बारामा अपाङ्गमैत्री निर्वाचन सम्पन्न गर्नमा आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्नो पार्टीमा उचित स्थान दिई अरू व्यक्ति सरह व्यवहार गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १ सय २४ जनाले उम्मेदवारी दिएकोमा ४० जना निर्वाचित हुनुभएको थियो । जसमा १५ जना महिला रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्