अछाममा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७पुग्यो, ६ जना अझै बेपत्ता

अछाम । शुक्रबार रातीको अविरल बर्षाका कारण अछाममा जनधनको ठुलो क्षति भएको छ ।
जिल्लामा बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ भने आधा दर्जन बढी मानिस बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको तुर्माखाद गाउँपालिकामा चार जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा सात जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा पाँच जना र ढकारी गाउँपालिकामा एक जना गरी १७ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
१७ जनाको शव भेटिँदा ६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
अहिले मानवीय क्षतिको विवरण सङ्कलन गरिरहेको र सनाखतको काम जारी रहेको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनुभयो ।
बाढी तथा पहिरोमा घाइते भएका ११ जनाको नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गर्ने तयारी भइरहेको छ ।
उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
राहतका लागि नेपाल रेडक्रस सोसाइटीको टोली परिचालनको तयारीमा रहेको समेत डिएसपी डाँगीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्