तपाईँ सुन्दै हुनुहुन्छः

प्रारम्भिक बालविकासका लागि अभिभावक शिक्षामा जोड  

जुम्ला । जन्मेदेखि २ वर्षको अवधिमा बालबालिकाको ८० प्रतिशत बौद्धिक विकास हुन्छ । त्यो समयमा बालबालिकाको शारीरिक,मानसिक,भाषिक र संवेगात्मक विकास हुनु पर्छ, जसलाई प्रारम्भिक बाल विकास भनिन्छ । चेतनाको अभाव, शिक्षाको कमी, बालबच्चाको स्याहार सुसार भन्दा काममा बढी ध्यान दिने बालीले नेपालका दुरदराज गाउँ ठाउँमा प्रारम्भिक बाल विकासको अवस्था दयनीय छ । 

भनिन्छ,“पहिलो शिक्षक बुबा आमा र पहिलो पाठशाला घर” । तर दुरदराजका नागरिकमा चेतना नभएर र सुगमका नागरिक शिक्षित भएर पनि बालबालिकाको प्रारम्भिक विकासमा ध्यान दिएको पाइदैन् । अझ बालबालिकाको रेखदेखमा बुबाहरूको भूमिका न्यून देखिन्छ । भने, घरभन्दा मेलापात देखि बालबच्चाको स्याहारसुसार गर्ने महिलाको ठेक्का जस्तै छ । 

प्रारम्भिक बालविकासका लागि सरकारले वर्षेनी अर्बौँ बजेट खर्चिन्छ । त्यस्तै गैससहरुले पनि बाल संरक्षण, सिकाई वृद्धि, बौद्धिक विकास भाषागत विकासका लागि मोटो रकम लगानी गरेको पाइन्छ । तर स्थानीय सरकारले गैससका राम्रा कामको निरन्तरता नदिनु र अभिभावक शिक्षालाई जोड नदिँदा प्रारम्भिक बालविकासमा उल्लेखीय सुधार हुन सकेको छैन । 

गाउँका अधिकांश बुबा आमा २ वर्ष सम्मका बच्चालाई घरमा छोडेर दिनभरी काम मात्रै गर्ने,बच्चालाई समय नदिने,रुने बित्तिकै मोबाइल दिने,सधैँ काम भनेर बच्चा सँग समय नबिताउने समस्या छ । जसले गर्दा बालबालिकाहरूको सर्वागिण विकासमा बाधा पुग्छ । 

त्यसैले जन्मेदेखि २ वर्षका बालबालिकाको प्रारम्भिक बालविकासका लागि अभिभावकलाई बढी जिम्मेवार बनाउन आवश्यक छ । विशेष गरी आमा बुबा, घरका अन्य परिवारले गर्भावस्थादेखि २ वर्षका बालबालिकाको शारीरिक, मानसिक, भाषिक तथा संवेगात्मक विकासका लागि समय दिन जरुरी छ । 

प्लान ईन्टरनेश्नलका प्रारम्भिक बाल विकास विज्ञ कमला राईले भन्नुभयो,“सरकारले २०७७ देखि ०८८ सम्मको एक दशकलाई  प्रारम्भिक बालविकास रणनीतिका रुपमा अघि बढाएको छ । उक्त रणनीति अनुसार २ बाल्यावस्थामै चाहाना प्रस्फुटन, निर्णय र नेतृत्व र सिकाई वृद्धिका सवालमा बालबालिकालाई चनाखो बनाउन अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ ।”

उहाँका अनुसार प्लानको सहयोगमा सेडा नेपाल जुम्लाद्वारा सञ्चालित ‘बालबालिकाको सपना परियोजना’ मार्फत जुम्ला र कालिकोटका ४ स्थानीय तहका २१ वडामा प्रारम्भिक बाल विकासका क्षेत्रमा काम गर्दै आएको छ । 

हाल सम्म ४ स्थानीय तहका २१ वडाका झण्डै ८ हजार बढी २ वर्ष सम्मका बालबालिकाका प्रारम्भिक बालविकासको पहुँचमा पुगेको समेत विज्ञ राईको भनाई छ ।  प्लान नेपालका दिपा वली र सेडा नेपालका कार्यक्रम संयोजकले प्रेम सिंह ठकुरीले प्रारम्भिक बालविकासका लागि नमुना अभिभावकको कथा लेखन,चेतना विस्तार तथा छलफल पैरवीमा जोड दिनुपर्ने बताउनुभयो । 

जुम्लामा बिहीबार आयोजित प्रारम्भिक बालविकास सम्बन्धी सरोकारवाला सँग छलफल कार्यक्रममा पत्रकार महासङ्घ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले दुर्गम गाउँका अभिभावकहरूलाई प्रारम्भिक बालविकासका बारेमा सिकाउनु पर्ने बताउनुभयो  । 

उहाँले भन्नुभयो,“जन्मेदेखि २ वर्ष सम्मको महत्त्वपूर्ण अवधिलाई अभिभावकले गम्भीर रुपमा बुझ्न र बुझाउन जरुरी छ । बच्चा भन्दा कामधन्दामा बढी ध्यान दिने ग्रामीण समुदायमा चेतना विस्तार जोड दिनुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button