तपाईँ सुन्दै हुनुहुन्छः

खुम्बुका पर्यटन व्यवसायी धमाधम फर्किँदै

सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र सगरमाथा क्षेत्रमा पर्यटक आवागमन बढ्न थालेसँगै अफ सिजनमा बाहिर गएका खुम्बुका पर्यटन व्यवसायीहरू धमाधम फर्किन थालेका छन् ।

पछिल्लो समय सो क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकहरूको चाप बढेसँगै भ्रमण तथा अन्य कामका लागि अन्यत्र गएकाहरू खुम्बु फर्किने क्रम सुरु भएको हो ।

वर्षायाम सुरु भएपछिको ‘अफ सिजन’मा बन्द भएका होटलहरु करिब ८० प्रतिशत भन्दा बढी खुलिसकेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । उहाँकाअनुसार यस वर्षको ‘अफ सिजन’मा पनि खुम्बुमा पर्यटक आवागमन राम्रो रहेको थियो ।

कतिपय होटल सिजनमा मात्रै सञ्चालन हुने भएकाले सञ्चालकहरू ‘अफ सिजन’मा काठमाडौँसहित अन्यत्र घुमफिरमा जाने गर्दछन् । तर सिजन सुरु भएर पर्यटकको सङ्ख्या बाक्लिएसँगै व्यवसायीहरू पनि फर्किने क्रम उच्च रहेको होटल सञ्चालक भीम श्रेष्ठले बताउनुभयो ।

पर्यटन सिजन सुरु हुन थालेसँगै खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङला, ठाङनाक तथा थामे लगायतका बासिन्दा आफ्नो व्यवसाय सञ्चालनमा फर्केका हुन् । पर्यटकको मौसम प्रतिकुलताका कारण उडान प्रभावित हुँदा समस्या भएको व्यवसायीहरूले बताएका छन् । खुम्बुसम्म सडक नपुगेकाले सो क्षेत्रमा हवाई मार्ग नै भरपर्दो विकल्प मानिएको छ ।

मौसमले साथ नदिँदा बेला बेला पर्यटक आवागमन नै ठप्प हुने गरेको स्थानीयको भनाइ छ । खुम्बुमा वर्षको दुई सिजनलाई पर्यटकीय सिजन मानिएकोमा असोज, कार्तिक, मङ्सिरलाई अक्टोबर सिजन मानिन्छ । तेन्जिङ हिलारी विमानस्थल लुक्लाका अनुसार सिधै काठमाडौँबाट लुक्ला हुँदै हवाईजहाजमार्फत यस क्षेत्रका अधिकांश स्थानीय व्यवसायी फर्केका छन् । मौसम प्रतिकूलताले उडानमा समस्या रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button