कालिकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन
कालिकोट । यस वर्ष कालिकोटमा मनग्य स्याउ उत्पादन भएन । चालु आर्थिक वर्षमा कालिकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचामध्ये अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।

नौ सय हेक्टर क्षेत्रफलमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ ।
जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, रास्कोट नगरपालिकामा स्याउ उत्पादन हुने गरेको छ । किसानले भदौ पहिलो साता नै बिक्री सुरु गरेको जिल्लाको तिलागुफा नगरपालिका–१० का अगुवा किसान कृष्णबहादुर शाहीले बताउनुभयो । “यहाँका अधिकांश किसानको स्याउको बगैँचा छ ।” उहाँले भन्नुभयो, “स्याउ सिजनमा प्रत्येक परिवारको रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी हुन्छ ।”
७० प्रतिशत कृषि विकास कार्यालयको अनुदान र ३० प्रतिशत किसानको लगानीमा स्याउका बिरुवा वितरण गर्ने गरिरहेको कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालाराम देवकोटाले बताउनुभयो ।
स्याउ किसानले अहिले बगैँचामै प्रतिकेजी रु ६० देखि रु ७० प्रतिकिलो बिक्री गर्ने गरेको तिलागुफा नगरपालिका–४ का स्याउ किसान बेगम शाहीले बताउनुभयो । “गत साल बराबर अहिले स्याउ फलेन ।” उहाँले भन्नुभयो, “सोचेअनुसार नफले पनि घाटामा कुनै किसान पनि गएको छैन ।”
रासस








प्रतिक्रिया राख्नुहोस्