खाली कन्टेनरका कारण सुख्खा बन्दरगाह अस्तव्यस्त
वीरगञ्ज । भारतीय कम्पनी कोंकरले सिर्सिया सुक्खा बन्दरगाहमा रहेका आफ्ना २ हजार ६ सय भन्दा बढी खाली कन्टेनर फिर्ता नलैजाँदा भन्सार यार्ड अस्तव्यस्त बनेको छ ।

बन्दरगाहको क्षमताभन्दा बढी कन्टेनर भएपछि व्यवस्थापन गर्न समस्या भएको हो । कोंकर डेढ दशकदेखि बन्दरगाह सञ्चालनको जिम्मा सम्हालेको हिमालयन टर्मिनलको साझेदार र भारतीय रेल्वेको भगिनी संस्था हो ।
बन्दरगाह छाडे पनि उक्त कम्पनीले आफ्नो जिम्मेवारीको खाली कन्टेनर फिर्ता नलग्दा समस्या भएको हो । बन्दरगाहको यार्डमा रहेका ३ हजार ४ सय २५ कन्टेनरमध्ये २ हजार ६ सय ३ खाली छन् ।
खालीमध्ये १ हजार ४ सय ७२ कन्टेनर कोंकरकै दायित्वका रहेका छन् । बन्दरगाहको कुल कन्टेनर क्षमता १ हजार ५ सय ८६ रहेको छ । सन् २०२० को मार्च–अप्रिल महिनामा कोरोना कालको अवधिमा कोंकरले यो बन्दरगाहबाट ९ वटा बेगन र्याक खाली लगेको थियो । त्यति बेलादेखि ती खाली कन्टेनर यहाँ थन्किएका हुन ।
सामान्यतया एउटा बेगन र्याकले ९० वटासम्म खाली कन्टेनर लग्न सक्छ । डेढ वर्षअघि प्रिस्टिन भ्यालीले बन्दरगाह सञ्चालनको ठेक्का पाएपछि कोंकरले र्याक पनि कम पठाउन थालेको थियो ।
त्यसपछि आफ्नो दायित्वको खाली कन्टेनर वीरगन्जबाट कोलकाता तथा बिशाखापटनम बन्दरगाहसम्म फिर्ता लग्न बन्द गरेको हो । प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माले बन्दरगाहको यार्ड खाली कन्टेनरकै कारण अस्तव्यस्त भएको बताउनुभयो ।
कोंकरले आयातकर्तासँग कन्टेनर ढुवानीको सम्झौता गर्दा वीरगन्जसम्म ल्याउने र यहाँबाट भारतीय बन्दरगाह फिर्ता लग्ने शुल्क लिइसकेको छ ।
त्यसैले कन्टेनर ढुवानी गर्ने बाध्यात्मक जिम्मेवारी प्रिस्टिन भ्यालीको नरहेको शर्माको तर्क छ । कोंकरले अझै पनि आफ्नो रेल्वे र्याक ल्याइरहेको तर यहाँ अड्किएको खाली कन्टेनर नलगेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्