आगामी निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताको सवाल

जुम्ला । चन्दननाथ नगरपालिका ५ निवासी हज्मा विकलाई २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीले वडाध्यक्षको टिकट दियो । वि.कले चुनावी प्रचारप्रसार गरिन् । मनोनयन दर्ताका दिन सम्म पनि नाम यथावत् थियो । तर मनोनयन दर्ताकै बेला भने हज्जामा विकको नाम उम्मेदवारबाट हटाइएको थियो । त्यसका दुई कारण थिए,पहिलो,“महिलाले काम गर्न सक्दैनन् भन्ने मानसिकता” र दोस्रो महिलालाई नेतृत्वमा पुराउनु हुदैन् भन्ने पुरुषवादी सोच” ले हज्मालाई वडाध्यक्षको उम्मेदवारबाट पाँखा लगाइयो ।
त्यस्तै २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकिकृत समाजवादी पार्टीले चन्दननाथ ६ निवासी जयलक्ष्मी चौलागाईलाई चन्दननाथ नगरपालिकाको मेयरको टिकट दियो । उनले पनि व्यापक प्रचारप्रसार गरी युवा नेतृ राजनीतिमा आउने कुराले माहौल निकै तातिएको थियो । अन्ततः समाजवादीले नगरपालिका स्वतन्त्र मेयरसँग चुनावी तालमेल गर्ने सहमतिपछि मेयर पदबाट चौलागाईलाई खुस्काइयो ।
साथै तिला गाउँपालिकाकी पूर्व उपाध्यक्ष विष्णुमाया बुढा, पातारासीका पूर्व उपाध्यक्ष पुन्नकली महतारा निर्वाचनमा अध्यक्षभन्दा पनि बढी भोट ल्याउँदा पनि पार्टीले प्रमुख पदमा स्वीकार नगरेको अनुभव सुनाउँछन् ।

तिलाकी पूर्वउपाध्यक्ष बुढाले अध्यक्षका पदका उम्मेदवार भन्दा बढी भोट ल्याएर जित्नुभयो । अध्यक्ष पदका उम्मेदवारले हार्नुभयो । सहायक पदमा महिलालाई कारिन्दाका रुपमा हेर्ने प्रवृत्तिका कारण महिला नेतृत्वमा जान नसकेको भन्दै अबको चुनावमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने जुम्ली महिलाको माग छ ।
नेपालको संविधानको धारा २६९ (४) को (ग)मा दलका विभिन्न तहका कार्यकारी पद र समितिमा समावेशिताको सिद्धान्तलाई कार्यान्वयन गर्दै महिलाको अर्थपूर्ण सहभागिता गराउनु पर्ने व्यवस्था छ । तर कार्यान्वयनमा शून्य देखिन्छ । ०७४ को चुनावमा चन्दननाथको मेयर बाहेक सातै पालिकामा पुरुष प्रमुख थिए । ०७९ को निर्वाचनबाट पनि जुम्लाका आठै तह र ६० वटै वडामा पुरुष नै विजयी भएका छन् ।
सोमबार जुम्लामा क्रियाशील महिला पत्रकार सङ्घद्वारा आयोजित ‘निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता’ सम्बन्धी कार्यक्रममा चन्दननाथ ५ निवासी हज्मा विकले भन्नुभयो,“म महिला भएकै कारण ०७४ निर्वाचनमा अन्तिम समयमा पार्टीले नाम हटायो । त्यस्तै सबै पार्टीमा चाहेर पनि महिला प्रमुख पदमा पुग्न सकेका छैनन् । पुरुषवादी चिन्तन भएका नेतृत्व सँग महिलाको नेतृत्व विकासका अब महिला एकजुट बहस गर्नु पर्छ ।”
माओवादीकी महिला नेतृ विष्णुमाया बुढा, समाजवादीकी नारायणी चौलागाई, काँग्रेसकी पुन्नकली महतारा, समाजवादीकै जलयलक्ष्मी चौलागाई लगायतका महिला नेतृले निर्वाचनमा मात्र नभई विकास निर्माण, शिक्षा, स्वास्थ्य रोजगारका क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नका लागि नेतृत्वको पुरुषवादी चिन्तनको अन्त्य गर्न महिला आर्थिक, तथा शैक्षिक र चेतनाका दृष्टिले सक्षम बन्नुपर्नेमा जोड दिएका छन् ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जुम्लामा प्रत्यक्षतर्फबाट महिला उम्मेदवारको नाम सिफारिस हुनु पर्ने उहाँहरूको माग छ । पैसा र पावर हुने मात्र नेतृत्वमा जाने, क्षमतावान्, केही गर्न सक्ने महिला सधैँ घरमा सीमित हुने र नेतृत्वले समेत महिलालाई दासी सम्झने प्रवृत्तिको अन्त्य गर्नुपर्ने महिला नेतृ विष्णुमाया बुढाले बताउनुभयो ।
मङ्सिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनका लागि जुम्लाका सबै पार्टीले प्रत्यक्ष तर्फ पुरुषको मात्र नाम सिफारिस गरेका छन् । महिला सबै समानुपातिकमा सीमित छन् । जिल्लाबाट सिफारिस भएपछि महिला बन्द सूचिमा पर्ने सम्भावना नै छैन ।
चन्दनाथ ५ की महिला सिता बुढाले भन्नुभयो, “महिलालाई प्रमुख नेताका रुपमा स्वीकार गर्ने मानसिकताको विकास भएको छैन । संविधानको समावेशिता ठुला नेताको खल्तीमा छ । पार्टीका प्रमुखलाई घचघच्याउन जरुरी छ । महिलाको एकता बिना महिला नेतृत्वमा जाने स्थिति छैन । अब चुप लागेर हैन अधिकार खोस्नका लागि बहस गर्नुपर्छ ।”
क्रियाशील महिला पत्रकार संघ जुम्लाका अध्यक्ष दिलमाया शाहीले महिलालाई जनताले पत्याउने तर पार्टीले नपत्याउने समस्या देखिएको बताउनुभयो । उहाँले भनिन,“चुनावमा पुरुष भन्दा महिलाले उम्मेदवारले बढी भोट ल्याएका उदाहरण छन् । तर पार्टीले महिलालाई प्रमुख पदमा भने पुर्याउनै चाहाँदैन् । पितृसत्तात्मक सोचका विरुद्ध महिला एकजुट हुनुपर्छ ।”








प्रतिक्रिया राख्नुहोस्