तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको जलजलामा नदीजन्य बस्तु लिलाम गरिने 

पर्वत । पर्वतको जलजला गाउँपालिकाले कानुन विपरीत कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाम बिक्री गर्ने भएको छ ।

सर्वोच्च अदालतको आदेश विपरीत ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरि निकालिएको नदीजन्य बस्तुको जफत गरि लिलाम बिक्री गर्न थालिएको गाउँपालिकाले जनाएको छ । 

पर्वतको वारी बेनीदेखि दम्भुखोलासम्म कालीगण्डकी नदीमा अवैध रुपमा उपकरण प्रयोग गरेर नदीको किनारमा अवैध उत्खनन हुँदै आएको छ । नदी किनारमा थुपारिएको  बालुवाको लिलाम बिक्रीको लागि नापजाँच गरिएको छ । जलजलाको लामाखेत, मोहन चोक, मिलनचोक, केराबारी, लस्ती फोर्से, खनियाघाट लगायतको क्षेत्रमा अवैध रुपमा उत्खनन् गरेर थुपारिएको बालुवाको लिलाम बिक्री गर्न अनुगमन गरिएको जलजला गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन टोलीका संयोजक दिपक आचार्यले बताउनुभयो ।     

साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत उत्खनन् गरिएको बालुवालाई लिलाम बिक्री गराउन गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, जिसस र पालिका इन्जिनियर, सुरक्षाकर्मी लगायतको उपस्थितमा किनारमा थुपारिएको नदीजन्य बस्तु नाँपजाँच गरिएको थियो । गाउँपालिकाको उपाध्यक्ष नेतृत्वमा तयारी पारिएको प्रतिवेदनलाई कार्यपालिकाको छलफलबाट लिलाम बिक्रीका लागि प्रक्रिया अघि बढाउने उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो । 

गत साउन १८ गते पर्वत स्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजरहरू शिल गरिएको थियो । वर्षातको समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै व्यवसायीले एक्स्काभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्ने बेच्ने गरेका छन् ।

राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको संरक्षणमा पर्वत खण्डमा कानुन विपरीत ठेक्का नलागेको ठाउँमा उपकरण प्रयोग गरेर अवैध रुपमा बालुवा उत्खनन् बढिरहेको जनगुनासो छ । म्याग्दी, पर्वत, बागलुङ क्षेत्रमा कानुन विपरीत नदीजन्य बस्तुको उत्खनन् बढिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button