तपाईँ सुन्दै हुनुहुन्छः

आइसिपीमा १ हजार ८ सय भन्दा बढी गाडी थन्किए

वीरगंज । सरकारले गाडी आयातमा गरेको कडाइको कारण वीरगंजको एकिकृत जाँच चौकी आईसिपी भन्सार कार्यालयमा अहिले १ हजार ८ सयभन्दा बढी गाडी थन्किएका छन् । 

विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न भन्दै सरकारले आयातमा गरेको कडाइ र लगानीयोग्य रकम अभावलाई कारण देखाएर बैङ्कहरूले कर्जा लगानी रोकेपछि देशकै प्रमुख नाका वीरगंज भन्सारमा चार चक्के सवारी साधन थन्किएका हुन ।  

आयात गरिएका गाडीहरूका कारण आईसीपी भन्सारमा पार्किङ गर्ने स्थान नै नभएपछि अहिले थप ३ सय गाडी अटाउने पार्किङस्थल बनाउन लागिएको नेपाल इन्टरमोडल यातायात विकास बोर्डका वीरगञ्ज प्रमुख कमल ज्ञवालीले जानकारी दिनुभयो ।  अहिले आईसीपीमा भित्रिएका गाडीहरू भन्सार पास नहुँदा रोकिएको र आईसीपीको पूर्वाधार सुधारका लागि विश्व बैङ्कको सहयोगमा बेग्लै गोदाम र पार्किङ बनाउन लागिएको ज्ञवालीले बताउनुभयो । 

सरकारले आयात प्रतिबन्ध लगाउनुअघि आयात प्रक्रिया पूरा भइसकेका गाडीहरू भन्सारमा रोकिएका छन् । प्रतिबन्ध लगाउनुअघि प्रक्रियामा गइसकेका गाडी भित्रिन दिने कि नदिने भन्ने विषय स्पष्ट नहुँदा जाँचपास नभएको आईसिपी भन्सारले जनाएको छ । 

अहिले बजारमा नयाँ गाडीको माग नभएकाले आयातकर्ताले गाडी छुटाउन समेत चासो नदेखाएको भन्सारको दाबी छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button