समानुपातिकमा २० लाख मत पाउँछौँ: अध्यक्ष नेपाल
चन्द्रौटा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गर्नुभएको छ ।
मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताउनुभयो ।

गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उहाँले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गर्नुभयो । उहाँले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताउनुभयो । मुस्लिम इत्तेहाद सङ्गठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई सङ्गठन बलियो बनाउन उहाँले आग्रह गर्नुभयो ।
पार्टीका सबै सङ्गठनलाई मजबुत बनाउने दायित्व सबै नेता कार्यकर्ताको रहेकाले गाउँ गाउँमा सङ्गठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिनुभयो । उहाँले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताउनुभयो । छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उहाँले स्थानीय र प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपालको रक्षा गर्न मुस्लिम समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले एकीकरणको समयदेखि हालसम्म मुस्लिम समुदायले देशको रक्षाका लागि गरेको प्रयास प्रशंसनीय रहेको जिकिर गर्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्