तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयताको विषयमा अहिले नै समीक्षा गर्ने वेला भएको छैन : मुख्यमन्त्री भट्ट

टीकापुर, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीयता र सरकारका कामको परिणाम पाँच वर्षमै नआउने बताउनु भएको छ । उहाँले सङ्घीयताको विषयमा अहिल्यै समीक्षा गर्ने समय नभएको पनि बताउनु भएको छ । 

टीकापुरमा शुरु भएको नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनलाई आज (शुक्रबार) सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले सङ्घीयता शहरमा भन्दा गाउँमा भेटिने गरेको बताउनुभयो । उहाँले पहिले लाख बजेट नपाउने दुर्गम गाउँमा अहिले करोडौँको बजेट खर्च भइरहेको र केही वर्षमा परिणाम देखिने बताउनुभयो । 

आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावलले टीकापुरलाई विविध सांस्कृतिक समूहको साझास्थल र शैक्षिक नगरीका रुपमा टीकापुर विकास भइरहेको पनि बताउनुभयो । 

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले टीकापुर केही वर्षअघिको घटनाका कारण आक्रान्त शहरको रुपमा नभई अहिले शान्तिपूर्ण वासस्थल हो भन्ने सन्देश प्रवाह गरिदिन सम्मेलनमा सहभागी जेसीज युवाहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल जेसीजका गैँडाकोटदेखि पश्चिम महाकालीसम्मका ३३ जिल्लाका ५५ वटा जेसीज, लेडिज जेसीज र जुनियर जेसीजहरु सहभागी छन् । सम्मेलन टीकापुर घोषणा पत्र जारी गर्दै भोलि २५ गते समापन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button