तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबासका चिकित्सकहरू आन्दोलित

बर्दिबास । उपचारका क्रममा बाल हिंसा गरेको  आरोपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करन साहमाथि लगाइएको मुद्दा खारेजीको माग गर्दै चिकित्सकहरू आन्दोलित भएका छन् । 

डा. साहको बचाउमा महोत्तरीको बर्दिबासका चिकित्सकहरू प्रदर्शन उत्रिएका हुन् ।  डा. करन साहमाथि झुटा मुद्दा लगाइएको उनीहरूको आरोप छ । 

जुम्लास्थित एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुलको कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको आरोप लगाउँदै बालकका आमा आशा हमाल शाहीले जुम्ला प्रहरीमा गत भदौ १३ गते जाहेरी दरखास्त दर्ता गर्नुभएको थियो । 

प्रहरीले जाहेरीका आधारमा चलाएको प्रक्रियाअनुसार अदालतले उनलाई सोमबार पक्राउ गर्न पुर्जी जारी गरेको छ ।

‘डाक्टरमाथिको षडयन्त्र बन्द गर्नुपर्छ । चिकित्सकलाई काम गर्ने शान्तिपूर्ण वातावरणको निर्माण गरिनुपर्छ । डा. साहविरुद्धको झूटा मुद्दा खारेज गरियोस् भन्ने हाम्रो माग हो । त्यसो भएन भने आन्दोलनका थप कार्यक्रमहरू हामी सार्वजनिक गछौं,’ प्रदर्शनमा सहभागी डा. गंगाराम खर्गाले भन्नुभयो । 

डा. साहलाई न्याय माग्दै विभिन्न नाराहरू उल्लेखित प्लेकार्ड बोकेर चिकित्सकहरू बर्दिबास चोकको विभिन्न भागमा परिक्रमा गरेका थिए । प्रदर्शनको क्रममा बर्दिबासका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button