मुलुकको व्यापार घाटा कम गर्नतर्फ सरकार लागिपरेको छ : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निर्यातजन्य उद्योगलाई प्रोत्साहन गरेर मुलुकको व्यापार घाटा कम गर्नतर्फ सरकार लागिपरेको बताउनुभएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको ५ महिनाको कार्य प्रगति सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री बडूले देशको अर्थतन्त्र उकास्न सरकारले बन्द रहेका विभिन्न उद्योगहरू सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले चालू आर्थिक वर्षमा प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न अवधारणा पत्र र कार्यविधिको मस्यौदा तयार भएको जानकारी गराउनुभयो ।
नेपाली उत्पादनलाई विश्वबजारमा पुर्याइ अर्थतन्त्र विकासका लागि सरकारले खेतदेखि कारखानासम्म कार्यक्रम सञ्चालन तयारी रहेको पनि मन्त्री बडूले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
चाडबाडहरू नजिकिँदै गरेको अवस्थामा मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न तीनै तहको सरकारसँग समन्वयन गरी अनुगमन सुरु गरिएको उहाँले बताउनुभयो ।
नेपाली ढाका कपडा उत्पादनलाई ब्राण्डिङ् गरी पाल्पा र तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी धिषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले ९० प्रतिशत सिमेन्ट नेपालमै उत्पादन भई सिमेन्टमा आत्मनिर्भर बन्दै गइरहेको र केही निजी उद्योगहरूले छिमेकी मुलुक भारतमा सिमेन्ट निर्यात सुरु गरेको पनि जानकारी गराउनुभयो ।
उहाँले सुदूरपश्चिम र कर्णाली प्रदेशमा खाद्यान्न आपूर्तिलाई सहज बनाउन खाद्यान्न कार्यालयको पुनर्स्थापना र डिपो थप गर्ने काम सुरु भएको जानकारी दिनुभयो ।

ग्याँसको उपभोग न्यूनीकरण गर्न सिंहदरबार परिसरभित्र विद्युतीय चुलो प्रयोग गर्ने सरकारको निर्णय कार्यान्वयन भएको जानकारी दिनुहुँदै उद्योग मन्त्री बडूले बिस्तारै प्रमुख सहरबाट समेत एलपी ग्याँस विस्थापन गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्