तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिनासँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट 

काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष अध्यक्ष ड्यानियल साल्मोन नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको योगदानको उहाँले प्रशंसा गर्नुभयो। 

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताउनुभयो। 

दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्भाव र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणको आदान÷प्रदानले विद्यमान सम्बन्धलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । 

“दुवै देशका संसद्ले आ–आफ्नो पक्षबाट योगदान गरेका छन् । यस्ता उत्कृष्ट अभ्यासहरू र योगदानलाई हामी हाम्रा जनताको हितमा लगाउन सक्दछौँ”, उहाँले भन्नुभयो, “दुवै संसदमा नेपाल–फ्रान्स संसदीय समूह गठन भएकोमा म खुसी व्यक्त गर्न चाहन्छु।”

अध्यक्ष तिमिल्सिनाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको समर्थनको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नुभयो।

उहाँले कोभिड–१९ महामारीसँग लड्दा नेपाललाई फ्रान्सले गरेको चिकित्सा सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। “नेपालको खोप अभियानमा कोभ्याक्स् सुविधामार्फत फ्रान्सको सहयोग प्राप्त गरेका छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले दुई देशबीच व्यापार, पर्यटन र पूर्वाधारका क्षेत्रमा थप सहयोगको प्रशस्त सम्भावना रहेको बताउनुभयो।  “युरोपियन आकाशमा नेपाली वायुसेवा उड्न पाइरहेको छैन, यहाँहरूमार्फत समन्वय गरेर नेपाली जहाज उड्ने वातावरण बन्नेछ भन्ने विश्वास गरेको छु” उहाँले भन्नुभयो। 

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यतामा लागि आभार व्यक्त गर्नुभयो। 

उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले संयुक्त रुपमा प्रयास गर्नुपर्ने, फ्रान्सले गरेको पर्यापर्यटन अभ्यासबारे जानकारी गराउनुहुँदै नेपालको लागि सो सम्बन्धमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button