तपाईँ सुन्दै हुनुहुन्छः

दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११ औँ महाधिवेशन विराटनगरमा सुरु

विराटनगर । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११ औँ महाधिवेशन आजदेखि विराटनगरमा सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त अधिवेशनमा ७७ जिल्लाका सहभागी प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्ने छन् ।

नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले महाधिवेशनको उद्घाटन गर्दै दूरसञ्चार संस्थानले प्रविधिको सर्वसुलभ सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । दूर सञ्चारको पहुँच सबै क्षेत्रमा पुर्‍याउनुपर्नेमा जोड दिँदै यसले समग्र प्रविधिको विकासमा मद्दत पुग्ने उहाँको भनाई थियो ।

मुलुकको पहिलो समस्या भनेको काम नगर्ने प्रवृत्ति हो भन्दै भ्रष्टाचारलाई प्रविधिको प्रयोगबाट नियन्त्रण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संस्थानका प्रबन्ध निर्देशक सुनिल पौडेलले जनताको संस्थानको सेवाप्रति रहेको गुनासो तत्काल समाधान गर्न एवं गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्गठनका अध्यक्ष यादवप्रसाद पनेरु, उपाध्यक्ष मोहन फुयाँल, दूरसञ्चार वर्कस युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन दूर सञ्चारका अध्यक्ष दामोदर केसी, संस्थानका प्रदेश निर्देशक प्रेमप्रसाद सिलवाल, संस्थानका सल्लाहकार राजबहादुर रावतले संस्थानको दुर्गम क्षेत्रमा सेवा विस्तारका क्रममा हुने कर्मचारीहरूको सरुवाका विषयमा सङ्घसंगठनले सहयोग गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button