तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सुरु 

टीकापुर कैलाली । कैलालीको टीकापुर नगरपालिकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सुरु गरेको छ । 

डेंगु लगायत किटजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि अभियान सुरु गरेको नगरपालिकाले जनाएको छ । 

आजबाट सुरु भएको अभियान २४ गतेसम्म जारी रहने नगरपालिकाका सिनीयर अहेव धर्मसिंह वटालाले जानकारी दिनुभयो । 

नौ वटा वडा रहेको टीकापुरमा आज वडा नम्बर १ देखि ५ सम्म र भोलि ६ देखि ९ सम्म अभियान सुरु गरिने उहाँले जानकारी दिनुभयो । 

अहिलेको अवस्था डेंगु लगायत किटजन्य रोगको सङ्क्रमण हुने समय भएका कारण नगरपालिकाका नागरिकहरूलाई सुरक्षित राख्न सहयोग होस् भनी अभियान सञ्चालन गरिएको वटालाले बताउनुभयो । 

वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविका लगायत अन्य सरोकारवालाहरूको सहभागितामा अभियान चलाइएको छ ।

हाम्रो घर वरिपरि रहेका गमला, टायर, ट्युब, भाँडाकुँडामा जमेको पानीमा लामखुट्टेले फूल पार्ने र पछि त्यसबाट लामखुट्टे उत्पादन भई डेंगु लगाएका किटजन्य रोग सार्ने भएकाले अभियान अन्तर्गत ती स्थानको सरसफाइ गर्दै लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button