तपाईँ सुन्दै हुनुहुन्छः

अनलाइन संस्कार कक्षालयको शुभारम्भ

काठमाडौँ । बालबालिकाहरूलाई असल संस्कार सिकाउने अनलाइन कक्षा “संस्कार कक्षालय”को शुक्रवार शुभारम्भ गरिएको छ । सुसंस्कार एवं योग अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रेन्च लेखक एवं विश्वकै खुसी व्यक्ति डा.म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको हो । अब हरेक शनिबार र आइतबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म र दिउँसो २ः३० देखि ४ः३० बजेसम्म अनलाइनमार्फत बालबालिकाका लागि संस्कार कक्षालय सञ्चालनमा आएको छ । 

संस्कार कक्षालयको शुभारम्भ कार्यक्रममा बोल्दै डा.रिचार्डले अहिलेको समयमा संस्कारी शिक्षा अत्यन्त उपयोगी हुने भएकाले डा.अधिकारी लगायत उहाँको विज्ञ समूहलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । शिक्षा लिनुको मुख्य उद्देश्य नै असल मानव बन्नु रहेको भन्दै उहाँले असल शिक्षाले नै मानिसलाई खुसी राख्न मद्दत पुग्ने बताउनु भयो । डा.रिचार्डले आफ्ना र आफ्ना स्वार्थका लागि मात्र सोच्ने व्यक्ति जीवनमा कहिल्यै सफल हुन नसक्ने भन्दै अरूको खुसीमा आफ्नो खुसी देख्ने व्यक्ति नै संसारको सफल र सुखी व्यक्ति बन्ने बताउनु भयो । अरूलाई दुःखी बनाउने भन्दा पनि कसरी अरूको राम्रो गर्न सकिन्छ भन्नेमा आफ्नो समय खर्चिनुपर्ने उहाँको भनाई थियो ।

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले आफ्नो व्यवहारमा लागु गरेर मात्र संस्कार सिकेको अर्थ रहने बताउनुभयो । संस्कार कुनै उमेर समूह र समयका लागि मात्र नभएर सबै र सँधैका लागि अत्यावश्यक रहेको भन्दै डा.महतोले संस्कार कक्षालयबाट सबैले फाइदा लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले बालबालिकाको पहिलो पाठशाला भनेकै आफ्नो घर भएकाले संस्कार घरबाटै शुरु हुनुपर्ने बताउनुभयो । उहाँले वालसुलभ मस्तिष्कमा अहिले संस्कारको बीजारोपण गर्न सके भविष्यमा अत्यन्त सकारात्मक मनोविज्ञानको विकास हुने बताउनु भयो ।  

शनिवारबाट शुरु हुने संस्कार कक्षालयमा असल संस्कार, संस्कारयुक्त दिनचर्या, बाल–योगाभ्यास, संस्कार प्रार्थना र श्लोकहरू, स्मरण शक्ति, एकाग्रता, मातापितालाई सम्मान, असल बानी व्यवहारलगायत विषयहरू समेटिने डा. अधिकारीले बताउनु भयो । आधुनिक शिक्षा प्रणालीले कुनै पनि व्यक्तिलाई पेशागत सफलतामा पु¥याए पनि सुसंस्कार सिकाउन नसक्दा मानवीय मूल्य–मान्यता सङ्कटग्रस्त बन्दै गएको डा. अधिकारीको भनाइ छ । ‘खुसी भएर जीवन जिउन असल संस्कार चाहिन्छ, सानै उमेरदेखि त्यस्तो संस्कार दिन संस्कार कक्षालय सुरु गरेका हौँ । बालबालिकामा दुर्गुण हटाई सद्गुण उमार्न संस्कार अति जरुरी हुन्छ,’ डा. अधिकारी भन्नुहुन्छ । 

अभिभावकले आफ्ना छोराछोरीहरूलाई सानै उमेरदेखि असल संस्कार दिलाउन आवश्यक रहेको र त्यसका लागि संस्कार कक्षालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाई छ । डा.अधिकारी थप्नुहुन्छ– ‘संस्कारी बनाउनुको अर्थ अभिभावकले छोराछोरीको व्यक्तित्वलाई चहकिलो, गुणवान् र मूल्यवान् बनाइदिनु हो । यसका लागि सुसंस्कारयुक्त शिक्षा अपरिहार्य हुन्छ र त्यसको परिपूर्ति संस्कार कक्षालयले गर्नेछ,’ । नयाँ पुस्तामा संस्कारी बानीको विकास गर्न सकेका उनीहरूको सोच्ने शैली, जीवनशैली, आहार शैली र व्यवहार शैली स्वस्थकर एवं सुखदायक हुने उहाँको भनाई छ । संस्कार प्रशिक्षक विमल कोइरालाले विषयगत ज्ञानले दिमागलाई शिक्षित गर्छ भने संस्कारयुक्त ज्ञानले हृदयलाई प्रशिक्षित गर्ने बताउनुभयो । 

पहिलो चरणमा ५ वर्षदेखि ९ वर्षसम्म, ९ वर्षदेखि १२ वर्षसम्म र १२ वर्षभन्दा माथिका गरी तीन समूहमा विभाजन संस्कार शिक्षा, योग विज्ञान, जीवन व्यवस्थापन तथा वैज्ञानिक आध्यात्मिकता जस्ता विषयका विशेषज्ञहरूमार्फत नेपाली भाषी बालबालिकालाई अनलाइनबाट संस्कार कक्षा प्रदान गरिनेछ । यस कक्षालयमा विश्वका जुनसुकै स्थानमा बसोबास गर्ने नेपाली भाषी बालबालिकाहरूलाई संस्कार अनलाइन कक्षामा समेटिने डा. अधिकारीले जानकारी दिएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button