झापा ३ मा काङ्ग्रेसबाट नेता कृष्णप्रसाद सिटौला सर्वसम्मत सिफारिस

भद्रपुर, झापा । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता, पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको नाम सर्वसम्मत सिफारिस भएको छ ।
नेपाली कांग्रेस भद्रपुर नगर समितिको कार्यालयमा बसेको ३ नम्बर क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेता सिटौलाको नाम सर्वसम्मत सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिनुभयो ।
नेता सिटौला झापा क्षेत्र नं ३ बाट सातौँ पटक उम्मेदवार बन्दै हुनुहुन्छ ।
२०४८ सालमा पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बन्नुभएका सिटौला त्यो निर्वाचनमा नेकपा एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजित हुनुभएको थियो भने २०५१ सालको संसदीय निर्वाचनमा एमालेकै पुष्पराज पोखरेलसँग पराजित हुनुभएको थियो । २०५६ सालको संसदीय निर्वाचनमा एमालेका नारायण राजवंशीलाई पराजित गर्दै सिटौला पहिलो पटक यस क्षेत्रबाट निर्वाचित भई संसद्मा पुग्नुभएको थियो ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका पूर्णसिंह राजवंशीसँग पराजित हुनुभएका सिटौला २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपाका राजेन्द्रप्रसाद लिङदेनलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो भने २०७४ सालको पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाका लिङदेनसँगै पराजित हुनुभएको थियो ।
आगामी निर्वाचनमा पनि नेता सिटौलाको प्रतिस्पर्धा राप्रपाका अध्यक्ष लिङदेनसँगै हुने सम्भावना छ ।








प्रतिक्रिया राख्नुहोस्